१५ चैत्र २०८०, बिहीबार
Follow Us

विवाहको सुइँको पाएपछि प्रहरीमा आइन् सुनिता

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७३, आईतवार ०८:३६

रोल्पा । विवाहका लागि आफ्नो मञ्जुरी नभएपछि एक किशोरी प्रहरीमा उजुरी गर्न आएकी छिन् । गैरीगाउँ–८, गाङ, रोल्पाकी १७ वर्षीया सुनिता परियारको परिवारले जबर्जस्ती विवाहको टुङ्गो लगाएको सुइँको पाएपछि न्याय खोज्दै परियार शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रोल्पामा आएकी हुन् । आर्थिक अभावका कारण कक्षा ५ उत्तीर्ण गरेर विद्यालय छोड्न बाध्य भएकी परियारले रुँदै भनिन्, “गाउँकै १९ वर्षीय रमेश परियारसँग मेरो विवाहका बारेमा कुरा टुङ्गिएको रहेछ । मलाई यस विषयमा केही पनि थाहा थिएन । घरमा बिहेका लागि भैँसी किनेर ल्याइएको छ । रोटी पकाउने काम चलेको छ साथै घर लिपपोत गर्न थालेपछि भाइबहिनीले मेरो विवाहका लागि तयारी हुँदैछ भन्ने जानकारी दिए ।”

“त्यसपछि मैले अहिले म सानै छु, बिहे गर्दिन भनेर धेरै रोएँ, कराएँ तर कसैले मेरो कुरा सुनेनन् । आगामी भदौ १६ गते विवाहको दिन तय भइसकेको छ रोक्न मिल्दैन भन्ने आमाको जवाफ पाएपछि नारायणगढमा भएकी दिदीलाई फोन गरँे । दिदीले यतै आइज भनेर बोलाएको हुँदा भागेर दिदीकहाँ जान लागेकी थिएँ । आफन्तले प्रहरीमा पुगे न्याय पाइन्छ भनेर सल्लाह दिएपछि प्रहरीमा आएँ । मलाई पटक्कै ऊसँग बिहे गर्न मन छैन । तपाईंहरुले बुबाआमालाई सम्झाइदिनुस्,” उनले आँसु पुछ्दै भनिन् ।

यसरी न्याय खोज्दै प्रहरी कार्यालय रोल्पामा आएकी परियारलाई शनिबार राति महिला प्रहरीको संरक्षणमा राखियो । प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार परियार गाउँबाट भागेर हिँडेपछि गाउँलेले थाहापाई खोजीका लागि प्रहरीमा खबर गरेका थिए । उहाँले भन्नुभयो, “हामीले यस विषयमा आइतबार अभिभावकलाई जिप्रका, रोल्पामा बोलाएका छौँ ।” उहाँहरु आएपछि वास्तविक कुरा बुझेर अगाडि बढ्नेछौँ ।” अहिले परियार प्रहरीकै संरक्षणमा भएको पनि उहाँले जानकारी दिनुभयो ।

जिल्लामा बालविवाह न्यूनीकरणका लागि अभियान थालिएको छ । उनी त प्रतिनिधि पात्र मात्र हुन् यस किसिमका घटना जिल्लामा धेरै हुने गरेका छन् ।