१३ बैशाख २०८१, बिहीबार
Follow Us

आर्थिक अपचलनको अवस्था कहालीलाग्दो

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७४, बिहीबार १६:०३

काठमाडौं । मुलुकमा आर्थिक अपचलनको अवस्था कहालीलाग्दो देखिएको छ । महालेखापरीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजु वर्षेनि बढ्दै गएकोमात्र दखिएको छैन, अवस्था भयावह देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिएको ५५औं वार्षिक प्रतिवेदनमा कुल बेरुजु ५ खर्ब ८ करोड रुपैयाँ पुगेको देखाइएको छ ।

महालेखापरीक्षक टंकमणि शर्माले राष्ट्रपतिको कार्यालय शीतल निवासमा उक्त तथ्यांकसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष हस्तान्तरण गरेका हुन् । बिहीबारै पत्रकार सम्मेलन गरी महालेखापरीक्षक शर्माले प्रतिवेदनबारे जानकारी दिँदै गत वर्ष कारबाही गरी टुंगो लगाउनुपर्ने ३ खर्ब ९६ अर्बसहित कुल बेरुजु ५ खर्ब ८ करोड पुगेको बताए । यो वर्षमात्र बेरुजु २६ प्रतिशतले बढेको छ ।

यो वर्ष कुल ४६ खर्ब ८७ अर्ब ९१ करोडको लेखापरीक्षण भएकोे छ । यो वर्ष ४ हजार ८१२ सरकारी कार्यालयको १७ खर्ब ५२ अर्ब, जिल्ला विकास समिति/समन्वय समिति ७५, स्थानीय तह ७४४ मध्ये ७३८, विश्वविद्यालय, समिति, संस्था, प्रतिष्ठानलगायत ९८२ निकायको २९ खर्ब ३४ अर्ब ९८ करोडको लेखापरीक्षण भएको हो ।

राजनीतिक अस्थिरता, वित्तीय अनुशासन पालनामा कमी र प्रशासनमा अन्योल बेरुजु बढ्नुका प्रमुख कारण भएको महालेखापरीक्षक शर्माले उल्लेख गरे । प्रतिवेदनमा यसपटक धेरै क्षेत्र समाहित गरिएको र वस्तुनिष्ठ ढंगले तयार पारिएको उनको दाबी छ ।