कृष्णप्रसाद न्यौपाने (अर्थशास्त्र एवं व्यवस्थापनमा स्नातकोत्तर, कानुन एवं होटेल तथा पर्यटन विषयमा स्नातक), महालेखा परीक्षकको कार्यालयका पूर्व निर्देशक, दर्जनौं आर्थिक क्षेत्रसँग सम्बन्धित संघ संस्थामा आबद्ध हुनुहुन्छ । ट्याक्स, भ्याट, सार्वजनिक खरिद, शेयरबजार एवं जलविद्युतका ज्ञाता एडभोकेट एवं लिक्विडेटरको लाईसेन्स प्राप्त न्यौपाने अहिले ग्लोबल प्रिन्ट कनेक्सन प्रा.लि.का बोर्ड अफ डाइरेक्टर, भेन्चर हाइड्रोपावर कम्पनीका म्यानेजमेन्ट कन्सलटेन्ट, कृष्ण प्रसाद न्यौपाने एण्ड एशोसियट अडिट फर्मका प्रोपाइटर, प्रोफेसनल एकाउन्टिङ्ग टे«निङ्ग कोर्सका संस्थापक एवं प्रमुख प्रशिक्षक, पूर्वाञ्चल विश्वविद्यालयमा विषयगत समितिअन्तर्गत सप्लाइ एन्ड प्रोक्युपमेन्ट म्यानेजमेन्ट समितिका सदस्य हुनुहुन्छ । त्यसैगरी पब्लिक प्रोक्युमेन्ट म्यानेजमेन्ट पुस्तकका लेखक न्यौपानले यतिबेला इन्स्युरेन्स पोलिसी होल्डर एशोसियसन अर्थात् नेपाल बीमित हित संरक्षण संघका अध्यक्ष हुनुहुन्छ । भर्खरै अस्तित्वमा आएको यो संस्थाले बीमा कम्पनी र बीमितबीचको असमझदारीलाई हटाउन मद्दत गर्ने बताउनुहुन्छ । लगानी र सम्भावनाको क्षेत्र पहिल्याउने बाहेक न्यौपानेको रुचि सामाजिक सेवामा पनि त्यत्तिकै छ । उहाँ मकवानपुर विकास सरोकार समुहका उपाध्यक्ष हुनुहुन्छ । यसै सेरोफेरोमा न्यौपानेसँग गरिएको कुराकानी–

० इन्सुरेन्स पोलिसी होल्डर एशोसियसनले के गर्छ ?
– नेपालमा ३० लाखभन्दा बढी इन्सुरेन्स पोलिसी होल्डर छन् । जसले विमा गरेको छ उनीहरुलाई पोलिसी होल्डर भनिन्छ । बुझिने भाषामा भन्दा जसले बीमा गरेको छ, उनीहरुलाई बीमित भनिन्छ । उनीहरुले नियमित प्रिमियम तिरेका हुन्छन् । बीमा कम्पनीहरुले विभिन्न पोलेसीहरु विक्री गर्छन् । जीवन बीमा कम्पनीले मानिसको जीवनसँग सम्बन्धित विभिन्न प्रकारका पोलीसीहरु विक्री गर्छ भने निर्जीवन बीमा कम्पनीले घर, कार्यालय, ठेक्का, अग्नी, मोटर जस्ता बीमा पोलीसी बिक्री गर्छ । यस्ता पोलीसीलाई बीमा प्रोडक्ट पनि भनिन्छ । अंग्रेजी तथा नेपाली भाषामा जारी हुने यस्ता पोलीसीहरुमा सर्वसाधारणले नबुझिने सारै प्राविधिक शब्द राखिएको हुन्छ । ताकि बीमा दाबी गरिएको रकम सम्बन्धित बीमित व्यक्तिले बुझ्न कठिन हुन्छ । हो, यस्ता सारै कठिन प्राविधिक उल्झनलाई इन्सुरेन्स पोलिसी होल्डर एसोसियसनले हटाउन सहयोग गर्छ । अर्थात् सहजकर्ताको भूमिका हाम्रो एशोसिएसनले खेल्छ ।

० दाबी रकम तपाईंहरु दिलाइ दिनुहुन्छ ?
– कम्पनी वा व्यक्तिले आफ्नो सम्पत्तिको सुरक्षा एवं जोखिम न्यूनिकरण गर्न वा एकमुष्ठ रुपले आर्थिक भविष्य र पूँजी निर्माणका लागि बीमा गरेको हुन्छ । दाबी गरेको रकम बीमा कम्पनीले किन नदिएको हो भन्ने कुरा हामी पहिले बुझ्छौं । उल्झन वा कठिन प्राविधिक शब्द राखेर बीमकलाई बीमा पोलीसीको विषयमा राम्रोसँग जानकारी नगराई बीमा गराएको भए बीमा दाबी रकम नदिन खोजिएको हो भने त्यो कम्पनीको फटाइ हो । प्रिमियम बुझाएपछि बीमा दाबीको रकम भुक्तानी नदिने प्रपञ्च गरिन्छ भने त्यो सरासर गलत हो । त्यसैले हामी पहिला समस्या पहिचान गर्छौ, त्यसपछि के गर्न सकिन्छ, अघि बढ्छौं । त्यसैले अहिले हाम्रो एशोसियसनसँग कोही डराएका पनि छन् भने केही खुशी भएको पनि मैले पाएको छु । त्यस्तै वीमितले झुठो विवरण बुझाएर वीमा दावी गर्ने गरेको कुरा पनि सुन्नमा आएको छ । त्यस्ता क्रियाकलापलाई यस संघले निरुत्साहित गर्दछ ।

० यसलाई नियमन गर्ने सरकारी निकाय छैन ?
– छ । यसको रेगुलेटिङ बडी भनेको बीमा समिति हो । यो समितिसँग ३० लाख बीमितको पहुँच नपुग्न सक्छ, पुग्दैन पनि । राज्यको पहुँच नपुगेकाहरुलाई हामी स्वतन्त्र र निष्पक्ष ढंगले निःशुल्क सेवा उपलब्ध गराउँछौं । हामी एशोसिएसनका पदाधिकारीहरुले सुरुमा १०–१० हजार रुपैयाँ राखेर काम अगाडि बढाएका छौं । बीमाको प्रिमियम तिरेपछि त्यसबाट पाउनु पर्ने दाबी अनुसारको रकम जोकोहीले सजिलै पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

० पीडितले एशोसिएसनमा उजुरी हाल्नुपर्छ ?
– जानकारी गराए पुग्छ, त्यस्ता पीडितहरु हामी आफै पनि खोज्दै हिड्छौं । किनभने बीमा दाबी रकम फिर्ता लिन पाउने बीमितको अधिकारबाट कोही बन्चित हुनुहुँदैन । यसो गरियो भने बीमाप्रति आम जनसमुदायको आकर्षण अझ बढेर जान्छ ।

० कतिलाई सेवा दिइसक्नुभयो ?
– यो एशोसियसन हामीले भर्खरै सुरु गरेका हौं, त्यसैले उल्लेख्य संख्यामा हामीले सेवा उपलब्ध गराउन सकेका छैनौं । निकट भविष्यमा हाम्रो सेवा विस्तार हुनेछ ।

० नेपालमा बीमाको अवस्था कस्तो छ ?
– निश्चित रुपमा बीमाको महत्व बढेको छ । बीमा जोखिम कम गर्ने एवं पूँजी निर्माणको एउटा माध्यम हो । पूँजी निर्माणले लगानीको वातावरण बन्छ । लगानीले रोजगारी र देश औद्योकिरणतर्फ अग्रसर हुन्छ । यस्तो चेतना नेपालमा विस्तारै वृद्धि भइरहेको मेरो अनुभव छ । नेपालमा ३० लाख बीमित पुगेको धेरै भएको छैन, पछिल्लो समय बीमासम्बन्धी चेतना अभिवृद्धिले गर्दा नै हो । जीवन बीमा कम्पनीको बीमा कोषमा ठूलो पूँजी  निर्माण भएकाले गत वर्षको भूकम्पमा वीमा कम्पनीहरुले त्यस्तो ठूलो नोक्सानी व्यहोर्नु परेन । बरु फाइदामै रहे ।

० कति छन् बीमा कम्पनी ?
– जीवन बीमा कम्पनी ९ वटा र निर्जीवन बीमा कम्पनी १७ वटा र पुनर्बीमा कम्पनी १ समेत २७ वटा बीमा समितिबाट इजाजत प्राप्त गरी सेवारत छन् । बीमा कम्पनीको लाइसेन्स दिने र नियमन गर्ने निकाय बीमा समिति हो । बीमा कम्पनीको मापदण्ड निर्धारण गर्ने, कम्पनीको सिईओको योग्ता तोक्ने र नियमन गर्ने यही संस्था हो ।

० यसभित्र कतिवटा संघ संस्था छ ?
– नेपाल बीमक संघ भन्ने छ, यो कम्पनीहरुको एशोसियसन हो । त्यसैगरी अर्को नेपाल इन्स्युरेन्स फ्रोफेसन सोसाइटी छ । यो इन्स्युरेन्स कम्पनीमा काम गर्ने कर्मचारीहरुको संगठन हो । त्यस्तै सर्भेयरहरुको संस्था नेपाल बीमा सर्भेयर एशोसियसन छ, यसका सदस्यले बीमा दाबीको मूल्यांकन एवं सिफारिस गर्छ र बीमा कम्पनीलाई रिर्पोट बुझाउँछ । त्यसैगरी नेपाल पेशागत बीमा अभिकर्ता संघ भन्ने छ । जसका सदस्यले बीमाको बजारीकरण, बीमाको जनचेतना र सम्भावित बीमितसँग सम्बन्ध स्थापित गर्छ र बीमा कम्पनीको एजेन्टको रुपमा काम गर्दछन् । पछिल्लो समय इन्सुरेन्स पोलिसी होल्डर एशोसियसन, नेपाल जसलाई नेपाल बीमित हित संरक्षण संघको रुपमा हामी उदाएका छौं । यस सम्बन्धमा हाम्रो धारणा सबै संघ संस्थाको आफ्नो स्वतन्त्र अस्तित्व हुन्छ । एक संस्थाले अर्को संस्थालाई हस्तक्षेप गर्ने भन्ने कुरा नै आउँदैन । प्रत्येक संस्था एवं पेशालाई हाम्रो संघले उच्च सम्मान गर्छ ।

सम्पर्कः ९८५१००६६७६, इमेलः kpneupane2008@live.com