१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘बेलायतमा यस्तो छ नेपाली नयाँ वर्षको तयारी ‘

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७४, शुक्रबार २०:२४

नवीन पोखरेल ।
लन्डन — सात समुद्रपार भएपनि बेलायतका नेपालीले आफ्नो मन मस्तिष्कमा मातृभूमि बिर्सेका छैनन् । नेपाली कला संस्कृति, भेषभुषा र चाडपर्वलाई जीवन्त दिन उनीहरुको सक्रियता स्वदेश भन्दा कम छैन् यहाँ । लाग्छ, बेलायतमै बनेको छ मिनी नेपाल । नेपाली मेला, पशुपतिनाथ मन्दिर र गुम्बा निर्माण, विभिन्न साँस्कृतिक पर्व मनाइनु यसका उदाहरण हुन् ।

नेपाली पात्रो फेरिन लाग्दा बेलायतको नेपाली डायस्पोरा पनि नयाँ वर्ष आगमनका लागि उत्साहित छ । नयाँ वर्ष २०७५ का अवसरमा नेपालीको अत्यधिक बसोवास भएका शहरमा विविध कार्यक्रम तय गरिएका छन् ।

सबैभन्दा बढि नेपाली बस्ने रसमोर बरोलाई प्रतिनिधित्व गर्ने संस्था ग्रेटर रसमोर नेपाली कम्युनिटीले नेपाली नयाँ वर्ष भव्य रुपमा मनाउने तयारी गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा आगामी १४ अप्रिल साँझ हुने उक्त कार्यक्रममा नेपाली र ब्रिटिश समुदायलगायत इन्डीयन, पाकिस्तानी, श्रीलंकनसमेतको सहभागिता रहने बताइएको छ ।

कार्यक्रमका लागि गत फेब्रुअरी ६ देखि स्थानीय नेपाली युवायुवती तथा बालबालिकालाई हरेक सोमबार र बुधबार साँझ नृत्य एवं गायनको तालिम गराइएको छ । ६ वटा नृत्यसहित यसको दीक्षान्त नयाँ वर्षकै दिन गरिने र कार्यक्रममा नेपाली तथा अंग्रेजी गीत, थप ३ वटा प्रोफेशनल नृत्य, प्रथम नौमती बाजा गुल्मी यूके र नेपालबाट आएका कलाकारको समेत बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष रामधन राईले बताए ।

कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र वर्तमान परिवेशमा स्थानीय काउन्सिल, प्रहरी र प्रशासनसंग सुमधुर सम्वन्ध कायम राख्न भएको कम्युनिटी अध्यक्ष जीब बेल्वासे बताउँछन् । स्थानीय काउन्सिलले नेपाली नयाँ वर्षलाई आफ्नो क्यालेण्डरमा समावेश गरेपछि विगत वर्ष भन्दा यो पटक फरक समुदायका उल्लेख्य मानिसको सहभागिता रहने विश्वास गरिएको छ ।

उक्त नयाँ वर्ष कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, स्थानीय मेयर, मेयरेस, क्याबिनेट लिडर, डेपुटी क्याबिनेट लिडर, आर्मी कर्णेल, प्रहरी, रसमोर फायर एण्ड रेस्क्यू सर्भिसेजका म्यानेजर, रसमोर बरो काउन्सिलका कम्युनिटी डेभलप्मेन्ट म्यानेजर, रसमोर भोलेण्टरी सर्भिसेजका चिफ एक्जुकेटिभ, न्यूनतम १५ जना काउन्सिलर, विभिन्न नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

उता, साउथहल विश्व हिन्दू मन्दिरमा नयाँ वर्ष वसन्त उत्सव तथा धार्मिक अनुष्ठान हुने भएको छ । बेलायतस्थित पश्चिम लण्डन पण्डित समूहले आउँदो २०७५ वैशाख १ गते शनिबार तदनुसार १४ अप्रिल सन् २०१८ का दिन कार्यक्रम गर्ने भएको हो । उक्त समारोहमा सत्यनारायण पूजा, ब्रत कथा, ग्रह शान्ति तथा भजन कीर्तन र १६ वर्ष मुनिका वालवालिकाको धार्मिक चित्रकला प्रदर्शन हुने पश्चिम लण्डन पण्डित समूहका पं. चिरञ्जीवि ढकालले जानकारी दिए ।

पश्चिम लण्डनका पण्डितहरुले हालै श्री पशुपतिनाथ सनातन मन्दिर दर्ता गरि निकट भविष्यमा हिन्दू मन्दिर निर्माण गर्ने योजना समेत बनाएका छन् ।

त्यस अलवा रोयल बरो अफ ग्रीनवीच नेपलिज् सोसाइटीले पनि १५ अप्रिल साँझ प्लमस्टिडमा नयाँ वर्ष शुभकामना साँझ राखेको छ भने नेपलिज् कम्युनिटी अक्सफोर्डसायरले १४ अप्रिल साँझ नयाँ वर्ष पार्टी गर्ने तयारी गरेको छ । अक्सफोर्डसायरको कार्यक्रममा कम्युनिटी अवार्ड, साँस्कृतिक कार्यक्रम, ककटेल डान्स आदि समावेश छ ।

संस्थागतदेखि व्यक्तिगत तवरमा अन्य कार्यक्रम पनि तय छन् । युवाहरुले नयाँ वर्षमा नयाँ संकल्पका साथ अघि बढ्ने अठोट लिएका छन् । बेलायतमा पहिलो पटक गत वर्ष गरिएको मिसेस नेपाल यूके २०१७ विजेता मध्ये सेकेन्ड रनरअप अमृता गिरी गजुरेल, क्याटवाक उपाधि विजेता गिता बस्नेत पाण्डे र फोटो जेनिक टाइटल जितेकी प्रिमा भट्टराई पन्तले पनि आ–आफ्नै नयाँ वर्ष संकल्प बनाएका छन् ।

बेलायतको नेपाली समुदायमा पछिल्लो पटक अधिकांश कार्यक्रममा नृत्य प्रस्तुत गरेर चर्चा बटुलिरहेका यी श्रीमती सुन्दरीहरु २०७५ सालमा सामाजिक र स्वयंसेवालाई मुख्य प्राथमिकता दिने सोचमा छन् । अंग्रेजहरुको देश भएपनि नेपालीपन र पर्व कहिल्यै भुल्न नहुने बताउँछन् उनीहरु । केही साता अघिमात्र मिसेस नेपाल यूके टिमले नेपालमा मस्तिष्क घात भएका बालबालिकाको सहयोगार्थ एक च्यारिटी डिनर गरेर करिब दश लाख रुपैयाँ संकलन गरेको थियो ।