नारायण गाउँले

सिंहदरबारमाथि लहराउने राष्ट्रिय झण्डाको कपड़ा भारत र चीनबाट आयात हुन्छ, र पनि हामी शानसँग नेपाली झण्डा भन्छौं ।

त्यही दरबारभित्र शासन गर्ने मार्क्सवाद युरोपबाट, माओवाद चीनबाट र लेनिनवाद रुसबाट आएको हो । तर हामी शानसँग ‘नेपाल कम्युनिस्ट पार्टी’ भन्छौं ।

तर, हाम्रो नयाँ वर्षसँग गाँसिएको विक्रम भन्ने नाम अहिलेको भारतसँग जोडिन्छ भन्दैमा कति सजिलै विदेशी नयाँ वर्ष भनिदिन्छौं !

हामी आफै भन्छौं, सबै कुराको राजनैतिक सिमाना कहाँ हुन्छ र ? अनि हाम्रा आफ्नै सांस्कृतिक पर्व र उत्सवलाई मात्रै विदेशी देख्ने बुद्धि हामीलाई कहाँबाट आउँछ ?

विक्रम संवत् नेपाली संवत् हो । यो संवत् मात्रै नेपाली होइन, अरू पनि नेपाली संवत् छन् । सयौं वर्षदेखि यो नेपाली संस्कृतिसँग गाँसिएर आएको छ ।

उदाहरणका निम्ति इन्डोनेशियाको बालीदेखि श्रीलङ्कासम्म फैलिएको रामायण कालीन सीमा र त्यसका पात्रहरू सबै हाम्रै हुन् । राजा जनक, ऋषि वाल्मीकि र सीता हाम्रो तर राम, वशिष्ठ र रावण विदेशी भन्ने हुँदैन । त्यो सिङ्गो समाज हाम्रो हो । नेपाली हो । त्यो समाजसँग गाँसिने जति सबै सभ्यता र देशको हो ।

मैले जनकपुरको जानकी मन्दिरमा राखिएको रामको मूर्तिलाई कसैले विदेशी भनेको सहन सक्दिन । थाइल्याण्डमा बुद्धलाई विदेशी भनेर होच्याएको कसैले सहन सक्दैन । आस्था र संस्कृतिलाई नागरिकताको आवश्यकता पर्दैन । जीसस क्राइस्टलाई इजरायली या विदेशी नागरिक भनेर युरोपले कुनै आफ्नै उत्पादनको ईश्वर खोज्ने भन्ने हुन्छ र ?

म नारायणी या बाग्मती नदीलाई आफ्नो ठान्छु, नेपाली ठान्छु, श्रद्धा गर्छु र पूजा गर्छु । यसको उत्पत्ति चीनमा हुन्छ भन्ने तर्कले यसलाई विदेशी बनाउँदैन । न यो भारतमा मिसिन्छ भन्ने तथ्यले मेरो आदर घटाउँछ । यो नेपालमा पर्ने जति नेपाली हो । भारतमा पर्ने जति भारतीय होला । तर म नारायणीलाई आधा नेपाली मान्न तयार छैन । मैले मनाउने विक्रम संवत् नेपाली हो र भारतीयले मनाउने भारतीय संवत् हो । एउटा भारतीयले यसलाई आफ्नो संवत् भन्छ भन्ने तर्क तेर्स्याएर मेरो संवतलाई पराया बनाउने हक कसैसँग छैन ।

हो, मेरो चन्द्र-सूर्य अङ्कित राष्ट्रिय झण्डाको सिङ्गो कपड़ा भारतबाट आयात भएको होला । त्यसलाई सिलाउने धागो चीनबाट आएको होला । सिउने कारीगढ़हरू विदेशी होलान् । कुनै तेस्रो देशले त्यसमा प्रयोग हुने रङ्ग निकासी गरेको होला । तर त्यसले नेपाली झण्डाप्रति मेरो आदर घटाउँदैन । नेपाली हुनुको प्रतिशत कम हुँदैन । त्यो सर्वाङ्ग नेपाली हो ।

हो, उज्जैन नामको देशका कुनै एक राजा विक्रमादित्यले शक शासकहरूलाई पराजित गरेर दुई हजार वर्षअघि सुरु गरेको संवत् नै विक्रम संवत होला । त्यो देश अहिले भारतभित्र पर्छ होला । भोलि त्यो नेपालभित्रै पर्न पनि सक्छ । पर्सि चीनभित्र पर्न पनि सक्छ । राजनैतिक सीमा अस्थायी प्रकृतिका छन् । सांस्कृतिक मूल्य र परम्परालाई राजनैतिक सीमाको बन्दी बनाउन मिल्दैन । भारतीय उपमहाद्वीपभित्र हाल कति देश छन् भन्ने कुराले यसको हजारौं वर्ष पुरानो सभ्यता र संस्कृतिको कित्ताकाट गर्न सक्दैन । लुम्बिनी नेपालमा पर्छ भन्ने तथ्यले बुद्धलाई भारतीयहरूले विदेशी भन्दैनन् ।

इतिहास भन्छ, मानव जाति घुमन्ते जाति हो । आज नेपालमा पाइने जति सबै नाम र थर बेलायतमा पनि पाइन्छन् । भोलि चन्द्रमामा पनि पाइएलान् । कुनै बेला काठमाडौंमा गाई पाल्ने गोपालवंशी कृषकहरू बस्थे होलान्, आज हामी बङ्गुरदेखि घोड़ा पाल्नेसम्म सबै बस्छौं । गोपाल नाम राखेमात्रै नेपाली भइने भन्ने अब रहेन ।

राणाहरूले विक्रम सम्बतलाई अफिसियल सम्बत बनाए होलान् । तर उनीहरूले भारतबाट टपक्क टिपेर ल्याएको सम्बत होइन यो । नेपाली समाजको धार्मिक सांस्कृतिक जीवनसँग गाँसिएको र पञ्चाङ्गमा बहुप्रचलनमा रहेको संवतलाई नै सरकारी सम्बत बनाइएको हो । विक्रम सम्बत आयातीत सम्बत होइन । सयौं वर्षदेखि यही माटोमा प्रयोग हुँदै आएको सम्बत हो । नेपाली जनमानसमा गहिरो गरी भिजिसकेको र राष्ट्रिय सम्पदा बनिसकेको नयाँ वर्षलाई विदेशी भनेर विवादमा तान्ने प्रयास उचित होइन ।

जसरी अंग्रेजी साम्राज्यवादको शिकार भएर भारतले ईशवी ( ग्रेगोरियन) संवतलाई सरकारी संवत मान्न बाध्य भयो, भोलि धार्मिक-सांस्कृतिक साम्राज्यवाद र उपनिवेशको भेलमा नेपालले पनि पक्कै ईशवी संवतलाई अपनाउनेछ । त्यतिन्जेल नेपालमा प्रचलित अन्य सबै नयाँ वर्ष र संवतहरूलाई आदर गर्दै म गर्वका साथ नेपाली नयाँ वर्षका रूपमा आजको दिनलाई मनाइरहनेछु ।

सबै पाठकमा मेरो व्यक्तिगत र नेपालब्रिटेनडटकमका तर्फबाट नेपाली नयाँ वर्षको हार्दिक शुभकामना ।