१३ बैशाख २०८१, बिहीबार
Follow Us

करोडको भवनमा शिक्षक छैन

sarusaru
२ बैशाख २०७५, आईतवार ०४:१४

बाग्लुङ-शारिरीक अपांगता भएका बालबालिकालाई राखेर पढाउन विद्यालय भवन बनेको ३ महिना बितिसक्दा पनि जिल्लाको विद्यालयमा शिक्षक दरबन्दी दिइएको छैन । रामरेखा आधारभूत विद्यालयमा प्लान नेपालले ¥याम र छात्रावास सहितको भवन बनाईदिएपनि श्रोत शिक्षक अभावमा विद्यार्थी भर्ना गर्न नपाइएको विद्यालकी प्रअ गीता शर्माले बताईन् । विद्यालयमा श्रोत शिक्षक नभए अपांग बालबालिका भर्ना गर्न र पढाउन सकिंदैन । श्रोत शिक्षक अपांगमैत्री व्यवहार सम्बन्धी तालिम प्राप्त समेत हुनुपर्छ । एक करोड रुपैयाँ लागतमा भवन निर्माण सम्झौता गर्नु अघि जिल्ला शिक्षा कार्यालयले एक जना श्रोत शिक्षकको दरबन्दी उपलब्ध गराउन दातृ संस्था र विद्यालयलाई आश्वासन दिएको थियो ।
उक्त आश्वासन बिपरित शिक्षाले अहिलेसम्म विभागमा जानकारी समेत नगराएको भेटिएको हो । ‘यस अघिका जिल्ला शिक्षा अधिकारीले पठाउनु भएको रहेनछ, अब नयाँ शैक्षिक सत्र लागेपछि मात्र माग्नुपर्ला’ जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले भने, ‘माग गर्ने समयमा नमागिएकोले यो समयमा भन्न मिलेन ।’ बैसाख १ गतेदेखि पढाई हुने गरी नयाँ शैक्षिक शत्र शुरु हुन्छ । त्यसका लागि बालबालिका भर्ना गर्नुपर्नेमा काम गर्न नपाएको शर्माले गुनासो गरिन् । श्रोत कक्षा र शिक्षक उपलब्ध गराउने शर्तमा मात्र प्लानले एक करोड लगानी गरेको थियो । ‘अहिले हामीले श्रोत शिक्षक र विद्यार्थी नभएको विद्यालयमा भवन बनाएको आरोप लागिरहेको छ’ प्लान नेपालकी क्षेत्रीय प्रवन्धक नितु आचार्यले भनिन्, ‘जिल्ला शिक्षाले हाम्रो सहयोगलाई खेलाचीं गरेको जस्तो भयो ।’ जिल्लाको शैक्षिक विकास, छात्रवृत्ति र सशक्तिकरणमा प्लानले करोडौं सहयोग गरेको छ । शिक्षक दरबन्दीको माग समेत नगर्दा उक्त सहयोगमा समेत असर पर्ने उनले बताईन् । आगामी चैत २८ गतेपछि जिल्ला शिक्षा कार्यालय रहने नरहने अन्यौल भएको समयमा शिक्षक पाउनेमै शंका भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर केसीले बताए । जिल्लामा शारीरिक अपांगता भएका धेरै बालबालिकाहरु छात्रावास र बसाई व्यवस्थापनको समस्याले पढाईबाट बञ्चित हुनुपरेको तथ्यांक छ । यो श्रोत विद्यालय संचालन भएमा जिल्लामा चार प्रकारका अपांगताको श्रोत विद्यालय भएको हुनेछ ।
यसअघि बहिराका लागि छुट्टै विद्यालय संचालनमा छभने दृष्टिविहिन र बौद्धिक अपांगताका लागि पनि विद्यालय संचालनमा छन् । ‘हामीले शारीरिक अपांगता भएका बालबालिकाले पढ्न पाउन भनेर विद्यालयमा भवन निर्माण र संचालन गर्ने साहस जुटायौं, तर जिल्ला शिक्षाले बेवास्ता ग¥यो’ केसीले भने, ‘नगरपालिकाबाट भएपनि एक जना दरबन्दी ल्याउन पहल गरेका छौं’ केसीले भने, ‘समितिको निर्णय र मागसहित निवदेन दिएका छौं, पाउने नपाउने अझै टुंगो छैन ।’ शिक्षक नपाएमा अपांग बालबालिका भर्ना गरेपनि पढाउन नसकिने उनले बताए । छात्र र छात्राका लागि छुट्टाछुट्टै राख्न मिल्ने गरी भवन बनेको छ । दुवैतर्फ कम्तिमा २०÷२० जना राखेर पढाउन र खाने बस्ने व्यवस्था गर्न सकिने गरी भवन बनेको हो । हाल यो विद्यालयमा नियमिततर्फ माझी, दलित र मजदुरका छोराछोरीहरु बढी पढ्छन् । ‘बसाई सरेर आएका मजदुरहरु हाम्रा लक्षित समुह बनेका छन्’ शर्माले भनिन्, ‘अब परीक्षा सकेर भर्ना अभियान पनि चलाउने तयारीमा छौं ।’ बसाई सराईले कहिले शैक्षिक शत्रको बीचमा बालबालिका थपिने र घट्ने समस्या हुँदा पढाईको गुणस्तर कायम गर्न कठिन भएको उनले बताईन्