७ बैशाख २०८१, शुक्रबार
Follow Us

सिन्दूर खेल्दै ३२ खट जात्रा

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०७५, आईतवार ०९:०१

भक्तपुर । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् । थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ । थिमिमा मात्र मनाइने सो जात्रामा एकार्कालाई सिन्दूर दलेर स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ल्याइन्छ । बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । शनिबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि जात्रा शुरु भएको थियो ।

जात्रा शुरु भएपछि पमा(जात्रा चलाउने नाइकेका सहयोगी)हरुले हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमति लिई बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ ।

थिमिमा ३२ खट सहभागी रथ बोकेर परम्परागत रुपमा मनाइँँदै आएको सो जात्रा अहिले थिमि क्षेत्रमा २३, बोडेमा सात तथा नगदेश र टिगनीमा एक एक छुट्टाछुट्टै स्थानमा खटजात्राका साथ जात्रा मनाइएको छ । यसमा थिमिका बालकुमारी, दक्षिणवाराही, विष्णुवीर र सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा सिन्दूर खेलिन्छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरेजात्रा मनाइने परम्परा छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने र फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा कायाँ बाजा, भुस्या बाजा, धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एकार्कालाई सिन्दूर दल्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो । बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणसहित क्वाछें द्यो(देवता), हिचो द्यो, अजिमा द्यो, विष्णुवीर र अन्य देवगणको खट उचालेपछि बालकुमारीको जात्रा शुरु गरिन्छ ।

परम्परानुसार नै देवता लायकू दरबारभित्र पस्न नपाऊन् भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गण बस्ने परम्परा छ । अगाडि बढाउँदै ल्याइने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दूर खेल्दै परिक्रमा गराइन्छ ।
आजै अपराह्न थिमिको जिब्रो छेड्ने जात्रा शुरु हुँदैछ । बोडेका ४६ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । उनले यसअघि पाँच पटक जिब्रो छेडिसकेका छन् ।
–रमेश गिरी