१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती मनाइने

sarusaru
२ बैशाख २०७५, आईतवार ०७:०१

चिरन शर्मा । लन्डन – बेलायतको विश्वप्रख्यात ट्राफल्गर स्क्वायरमा २५६२ औं बुद्धजयन्ती मनाउने तयारी गरिएको छ ।

बुद्ध फाउन्डेसन युके र कपिलवस्तु अभियानको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा मे ५ तारिखका दिन बुद्धजयन्ती विशेष कार्यक्रमका बीच मनाइने फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । नेपालको पर्यटन प्रवद्र्धन र बुद्ध जन्मस्थलबारे भ्रम चिर्न कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ।

कार्यक्रममा लन्डनका मेयर सादिक खानलाई समेत आमन्त्रण गरिएको छ । खानलाई कार्यक्रममा सहभागिताको लागि नेपाली दूतावास लन्डनमार्फत् पत्राचार गरिएको श्रेष्ठले जनाकारी दिए ।

मेयर खानले दूतावासले दिएको निमन्त्रणालाई सकरात्मक रुपमा लिएका श्रेष्ठ बताए । उनले भने, ‘मेयरको कार्यालयले निमन्त्रणालाई सकरात्मक रुपमा लिँदै मेयरको भूमिका बारेमा चासो राखेका छन् । त्यसले उनी कार्यक्रममा सहभागी हुनेमा हामी आशावादी छौं ।’ कार्यक्रममा बेलायतस्थित नेपाली समुदायसहित करिब १ हजारको सहभागिता रहने अपेक्षा गरिएको छ । यो पर्वको रुपमा मनाउने परम्परा बसोस् भन्ने चाहाना हाम्रो हो, श्रेष्ठले भने, ‘लण्डनमा कार्यक्रम आयोजना गर्न पाउनु नै ठूलो अवसर हो।’

लन्डनको विश्वप्रख्यात पर्यटनको अर्कषणको केन्द्र ट्राफल्गर स्क्वायरमा दोस्रो पटक बुद्धजयन्ती मनाउन लागिएको हो। यसअघि कपिलवस्तु समाजको सक्रियतामा बेलायती संसद भवनअगाडि बुद्धजयन्ती मनाइएको थियो। कार्यक्रमलाई गैरआवासीय नेपाली संघ यूके र टुरिजम बोर्डले समेत सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्था, कुटनीतिक नियोगका प्रमुख, सांसद, अन्तर्राष्ट्रिय संचारमाध्यम, यहाँस्थित विदेशमन्त्रालयका अधिकारी, काउन्सिलर्स, मेयरलगायतलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ।