१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा प्रचारप्रसार

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७५, आईतवार २०:३८

नारायण भुर्तेल।

स्पेन– नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा नेपालको पर्यटकीय तस्बिरसहितका सामग्री प्रदर्शन एवं वितरण गरिएको छ । नेपाली जनप्रगतिशील मञ्च स्पेनले शनिवार स्पेनको बार्सिलोना स्थित विश्व प्रसिद्द रोमन क्याथोलिक गिर्जाघर सग्रादा फैमिलियामा विदेशी नागरिकलाई नेपालका पर्यटकीय ठाउँका फोटोसहितका सामग्री वितरण गरि प्रचार प्रसार गरेको हो ।

विश्व प्रसिद्द गिर्जाघर हेर्न दैनिक आउने हजारौ पर्यटकहरुको घुईचो लाग्ने ठाउँमा नेपाललाई पनि पर्यटकीय देश भनेर चिनाउन फोटोसहितका सामग्रीहरु वितरण गरी प्रचार गरेको आयोजकले जानाएको छ ।

विश्वका विभिन्न देशका नागरिकहरुले सो ठाउँमा स्टल राखी आफ्नो देशको प्रचार प्रसार गर्ने गर्छन् नेपाली जनप्रगतिशील मञ्च स्पेनका महासचिव अशोक किरण न्यौपानेले नागरिकन्यूजसँग भने त्यसैले हामीले पनि नेपालको प्रतिनिधित्व गर्दै नेपाली झण्डा र नेपालका पर्यटकीय तस्बिरहरुले सजिएको स्टल राखी नेपालको प्रसार प्रचार गरेका हौ।

विश्वकै अग्लो सगरमाथा, गौतम बुद्धको जन्मभूमि लुम्बिनी, मुक्तिनाथ, पशुपति, सौराह, पोखरा लगाएत नेपालका विभिन्न पर्यटकीय ठाउँहरुको तस्विरहरु राखी नेपाल सानो मुलुक भए पनि सांस्कृतिक विविधताले भरीपुर्ण र घुम्नका लागि रमणीय छ भन्ने सन्देश विश्वका नागरिकहरु समक्ष दिएको न्यौपानेले बताए ।

यो कार्यक्रमका लागि कातोलोनिया सरकारको सामाजिक तथा साँस्कृतिक विभाग तथा बार्सिलोना नगरपालिकाले सहयोग गरेको थियो ।