१५ चैत्र २०८०, बिहीबार
Follow Us

संविधान संशोधनबारे भारतसँग कुनै छलफल नभएको दाबी

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७३, आईतवार १४:०८

काठमाडौं । सरकारले संबिधान संसोधनका विषयमा भारत सरकारसँग कुनै छलफल नभएको संसदलाई जानकारी गराएको छ । आजको संसद बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनबारे भारतसँग केही पनि कुरा नभएको दाबी गरेका हुन् । उनले संविधान संशोधनबारे भारतसँग कुराकानी गरेको भनेर फैलाइएको हल्ला निराधार भएको समेत बैठकमा बताए । आफु विशेष दूतका रुपमा भारत गएको र सोही रुपमा प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको उच्चस्तरीय भ्रमणको निम्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरेको निधिले संसदलाई जानकारी गराए । दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि आफ्नो भारत भ्रमण केन्द्रीत भएको निधिको भनाइ थियो । यसअघि संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकी मूलुकमा पठाउनुपर्ने कारण बारेमा प्रश्न उठाएको थियो । संसद बैठकमा एमाले सांसद भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरे । युद्धग्रस्त देशमा मात्र विशेष दूत पठाउने मान्यता विपरीत भारतमा विशेष दूत पठाउनुपर्ने आवश्यकता सरकारले खुलाउनुपर्ने उनको भनाइ थियो । बैठकमा सांसद अग्नि खरेलले वर्तमान सरकार निर्माणका बेला भएका विभिन्न सहमति र सम्झौताका बारेमा टिप्पणी गर्दै सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन गरिरहेको काम बारे प्रश्न गरेका थिए ।।
यसैबीच, व्यवस्थापिका संसदमा सडक सुरक्षा कार्ययोजना सम्वन्धी विशेष प्रस्तावमाथि छलफल सुरु भएको छ । सडक सुरक्षा कार्ययोजना लागू गर्नुपर्ने भन्दै एमाले सांसद एवं विकास समितिका सभापति रवीन्द्र अधिकारीले दर्ता गराएको प्रस्तावमाथि संसदमा छलफल भैरहेको हो । अधिकारीले राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि धारणा राख्दै सांसदहरुले सिण्डिकेटका कारण सवारी दुर्घटना बढेको भन्दै त्यसलाई अन्त्य गर्न माग गरेका छन । सडकको अवस्था सुधार गर्न र सवारी नियममा कडाइ गर्नका लागि पनि सांसदहरुले माग गरेका छन् । प्रत्येक दिन पाँच जनाको सडक दुर्घटनामा परी मृत्यु हुने गरेको भन्दै सांसदहरुले चालकलाई दोष लगाएर सरकार उम्कनुभन्दा सार्वजनिक यातायातलाई भरपर्दो बनाउनपर्ने माग पनि गरेका छन । जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै सांसद अधिकारीले कच्ची सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने काम र सिन्डिकेटका कारण सडक दुर्घटना बढेको बताएका थिए । सडक दुर्घटनाको विषय अत्यन्त गम्भीर भएकाले संसदमा छलफल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । प्रस्तावको एमाले सांसद गणेश पहाडी र संघीय समाजवादी फोरम नेपालका डाक्टर शिवजी यादवले समर्थन गरेका थिए ।