१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतबासीको सहयोगले गोर्खामा बिद्यालय भवन निर्माण

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७५, आईतवार २३:०३

लन्डन ।
नेपालमा २०७२ साल बैशाख १२ गतेका दिन गोर्खा जिल्लाको बारपाकलाइ केन्द्र बनाई गएको विनासकारी महाभूकम्पले संसारभर छरिएर रहेका नेपालीहरुको मन पनि छिया छिया भयो । भूकम्प पीडितहरुको लागी सबैतिरबाट भौतिक तथा आर्थिक सरसहयोगका लागी आआफ्नो हिसाबले सहयोगी हातहरु सक्रिय भएका थिए । यस्तै सहयोग गर्ने क्रममा बेलायतको रेडिंगबासी नेपालीहरु खासगरी महिला तथा बिद्यार्थीहरुको सक्रियतामा आर्थिक सहयोग संकलन गरिएको थियो ।

रेडिंग निवासी समाजसेबी प्रतिमा केसीको संयोजनमा गोर्खा जिल्लाको बिकट गाउँ तत्कालीन आरुआर्बांग गाबिसको आर्बांगमा रहेको स्थानिका निम्न माध्यमिक विद्यालयको कम्तिमा एक वा दुइ कोठाको पुनर्निर्माणको लागी आर्थिक सहयोग संकलन गर्ने अभियान संचालन गरियो । सोहि क्षेत्रमा गएर ग्रामिण बिकासमा केही समय सहयोग समेत गरिसकेकी केसीको सो अभियानबाट १,७८४.९८ पाउण्ड ( रु. २,७५,३३५) संकलन भयो । रकम संकलनको लागी रेडिंगमा रहेका बिद्यालय जाने साना बालबच्चादेखि सबैले सहयोग गरेका थिए ।

संकलित रकम प्रतिमा केसीको संयोजनमा स्थानिका निम्न माध्यमिक बिद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेबी दल सिंग गुरुङको पहलमा एक वा दुइ कोठा निर्माण गर्ने योजना बन्यो तर सोहि स्थानमा पुनर्निमाण गर्ने वा नयाँ ठाउमा बनाउने भन्ने बिषयमा गाउँलेहरु अनिर्णित भइ ढिलाई भएकोले आरुआर्बांगको गुरुङ बस्ती रहेको वडा नम्बर ५ भोक्टेनी गाउँमा नयाँ प्राथमिक बिद्यालय भवन बनाउने गाउँलेहरुको भेलाले निर्णय गर्यो । त्यसको नाम दीप ज्योती प्राथमिक बिद्यालय राख्ने निर्णय भयो र त्यसको लागी जग्गा प्राप्ति र आबश्यक प्रक्रिया पुरा गरी गाउँलेहरुले श्रमदान गरे भने एक कोरियन संस्थाले दुइकोठे बिद्यालय भवन निर्माण समेत गरिदियो ।

तत्कालको लागी कोठाहरुको आबश्यकता पुरा भएकोले बेलायतबासी नेपालीहरुबाट प्राप्त भएको सो सानो सहयोग रकमबाट बहुउदेश्यीय टहरा बनाउने निर्णय भयो । सो टहरा हालको लागी बालबच्चाहरुको खेल तथा शारीरिक बिकासको लागी प्रयोग गरिने छ भने भविष्यमा कक्षा थप गर्ने क्रममा त्यसबाट दुइ कोठाहरु निर्माण गरिने छ ।

टहरा निर्माणको लागी जनश्रमदान बाहेक कुल रु. २,९३,००० खर्च भएको तर संकलित रकम रु. २,७५,३३५ मात्र भएकोले नपुग रकम रु. १७,६६५ समेत प्रतिमा केसीले बिद्यालय निर्माणको लागी थप आर्थिक सहयोग गरेकी थिइन ।

स्मरणीय कुरा के छ भने गोर्खाको बिकट क्षेत्रमा रहेको सो प्राथमिक बिद्यालय निर्माणको लागी बेलायतबासीहरुबाट प्राप्त भएको रकम निर्माण सामाग्री खरिद तथा ढुवानीको लागी मात्र प्रयोग गरिएको थियो भने सम्पूर्ण श्रमदान स्थानीय गाउलेहरुले गरेका थिए । यो काम सम्पन्न गर्नको लागी त्यस क्षेत्रकै लोकप्रिय समाजसेबी ८३ बर्षीय भुतपुर्ब भारतीय सैनिक दल सिंग गुरुङको बिशेष भूमिका रहेको थियो । लाखौं नेपालीहरु जस्तै भूकम्पको विनासबाट मर्माहित समाजसेबी प्रतिमा केसीले आर्थिक सहयोग संकलन बाहेक अन्य थुप्रै रचनात्मक काम गरिसकेकी छन । उनले “हिम्मत हार्नु हुन्न हाम्ले” भन्ने भूकम्प सम्बन्धी उत्प्रेरणात्मक म्युजिक भिडिओ समेत निर्माण गरेकी थिइन ।