११ बैशाख २०८१, मंगलवार
Follow Us

पार्टी एकताबारे ओली र प्रचण्डबीच छलफल हुँदै

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७५, सोमबार ०५:४६

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकताबारे छलफल हुँदैछ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार एकता प्रक्रिया लगायतका विषयमा दुई नेताबीच छलफल हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाटको व्यवस्था मिलाइएको छ ।

हिजो बालुवाटार भेट छोडेर सिन्धुपाल्चोकको सुकुटे पुग्नु भएका माओवादी अध्यक्ष प्रचण्डसँगको परामर्शपछि दुई शीर्ष नेताबीच भेटको कार्यक्रम तय भएको हो । प्रचण्ड सुकुटेबाट फर्किएर सोझै बालुवाटार जाने उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणअघि नै पार्टी एकीकरणको तयारी भए पनि समय अभाव भएको भन्दै वैशाख ९ मा मात्रै एकता घोषणा गर्ने भनिएको थियो ।

तर, त्यसयता विवादित विषय मिलाउन शीर्ष नेताबीच कुनै पनि परामर्श हुन सकेको छैन । दुई दलबीचमा एकीकरणपछि केन्द्रीय समितिमा हुने प्रतिनिधित्वको अनुपात, विधानको प्रस्तावनामा प्रयोग हुने राजनीतिक शव्दावली, चुनाव चिह्न लगायतका विषयमा सहमति भएको छैन । विधानमा जनयुद्ध शब्द लेखेर जानु पर्ने माओवादीको प्रस्ताव छ । जसमा एमाले सहमत भइसकेको छैन । चुनाव चिह्नमा दुबै दलले आ–आफ्नो चिह्नमा दाबी गरिरहेका छन् ।