७ बैशाख २०८१, शुक्रबार
Follow Us

आज आमाको मुख हेर्ने दिन

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७५, सोमबार ०५:५५

काठमाडौं । आज आमाको मुख हेर्ने दिन । जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर आर्शिवाद थापेर मनाइँदैछ । यो वर्ष आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।  आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।