८ बैशाख २०८१, शनिबार
Follow Us

अधिनायकवाद शुरु भइसक्यो : सभापति देउवा

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७५, सोमबार १०:०६

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।

उनले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।”सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए ।

“शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उनले व्यङ्ग्य गर्दै भने, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।”पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए ।