१३ बैशाख २०८१, बिहीबार
Follow Us

पार्टी एकताको निर्णायक छलफल भोलि हुने

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७५, सोमबार १०:१३

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित एकता संयोजन समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सो बैठकले दुवै पार्टीको एकीकरणका बाँकी विषयमा छलफल गर्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको बैठकले यो निर्णय गरेको हो ।

आज बालुवाटारमा दुई नेताबीच भएको २ घण्टा लामो छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको हो । आजको बैठकमा नेताहरुबीच एकतामा देखिएका विवादबारे छलफल भए पनि कुनै सहमति हुन नसकेको बताइएको छ ।

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच यसअघि सहमति हुन नसकेका विषय एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने भन्नेमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । यसअघि यी विषयमा कार्यदलस्तरमा सहमति नजुट्दा शीर्ष नेतालाई सहमति गर्ने जिम्मेवारी दिइएको थियो । तर, विवादित विषयमा ओली र प्रचण्डबीच छलफल नै हुन सकेको थिएन ।

नेतहरुबीच एकीकृत पार्टीको केन्द्रीय समिति २९९ सदस्यी बनाउनेमा सहमत भए पनि कुन पार्टीबाट कति जना रहने भन्नेमा कुरा मिल्न सकेको छैन । माओवादीले यसमा आधा हिस्सा माग गर्दै आएको छ । मंगलबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकले नै यी मिल्न नसकेका विषयमा छलफल गर्नेछ ।