१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भोलि महत्वपूर्ण निर्णय लिँदैछु : अध्यक्ष प्रचण्ड

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७५, सोमबार १४:५३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पु-याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताउनुभएको छ । अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी शिक्षाको प्रारुप’ विषयक बृहत् शैक्षिक कार्यशालाको आज यहाँ उद्घाटन गर्दै उहाँले “पार्टी एकतालाई निष्कर्षमा पु-याउनुपर्छ, एकता अहिलेको महत्वपूर्ण विषय हो भन्नुभयो ।”

अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका विषयमा तयार भएका प्रतिवेदनलाई अध्ययन गरेर भोलिसम्म आफूले महत्वपूर्ण निर्णय लिने जानकारी दिनुभयो । निजीक्षेत्रलाई निषेध होइन, यसप्रति अभिभावकको सम्बन्ध विस्तारै घटाउँदै लैजाने शिक्षामा सरकारको लगानी बढाउनुपर्ने बताउँदै उहाँले अहिलेको शिक्षा पूँजीवादी र साम्राज्यवादी भएको हुँदा अब सामाजिक जीवन उपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले संविधानले निर्दिष्ट गरेका समाजवादी शिक्षाको विकल्प नभएको उल्लेख गर्दै समाज परिवर्तन गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

“अहिले सामान्य सिद्धान्तमा आधारित बेरोजगारी उत्पादन गर्ने शिक्षा भएको छ”, उहाँले भन्नुभयो, “आत्मनिर्भर स्वरोजगार र आम जीवनमा प्रभाव पार्ने खालको शिक्षा लागू गर्नु पर्दछ ।” उहाँले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले शिक्षक पेशा सम्मानित बनाउनेतर्फ राज्य अग्रसर हुनुपर्नेमा जोड दिदैं “शिक्षकको भूमिका नेपालको राजनीतिक परिवर्तनमा ठूलो रहेको छ भन्नुभयो ।”

“शिक्षक जागरुक भएकाले जनतामा क्रान्तिकारी चेतना फैलाउन सफल भएका हुन्, त्यसैले शिक्षकलाई सम्मानित पेशाका रुपमा हेरिनुपर्दछ,” उहाँले भन्नुभयो, “अवको शिक्षा गरिब र धनीको खाडल पुर्ने खालको हुनुपर्दछ ।”

अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यमार्फत नेपालको आर्थिक तथा सामाजिक विकास गर्नुपर्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवादी शिक्षा नीति बनाइने बताउँदै यसका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।

अन्य देशबाट सिकेर यहाँको भौगोलिक विविधता समेटेर समाजवादी शिक्षा ल्याइने बताउँदै उहाँले सीप र उत्पादनसँग शिक्षालाई जोड्ने नीति बनाइरहेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले खेलकुद, सूचना प्रविधि, कृषि र आयुर्वेदिक शिक्षालाई प्राथमिकता दिने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा रमेश भट्टराईले ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ र लेखनाथ शर्माले ‘अक्षरांकन प्रणाली र विषयगत उपलब्धि प्रमाणीकरण प्रणालीः औचित्य र अभ्यास’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।