१५ चैत्र २०८०, बिहीबार
Follow Us

ग्रिनविचमा नेपाली नयां वर्ष शुभकामना आदानप्रदान

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७५, सोमबार २१:२०

लण्डन । रोयल ग्रिनविच नेपाली सोसाइटीले हरेक वर्षजस्तै यसपटक पनि एक कार्यक्रमको आयोजना गरी नेपाली नयां वर्ष मनाएको छ । आइतबार सांझ प्लमस्टिडस्थित एशिएन कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा ४ सय बढि सहभागी भएको सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङले जानकारी दिए ।

इरिथ र थेम्समिड क्षेत्रको प्रतिनिधित्व गर्ने बेलायती सांसद टेरेसा पिएर्सको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारका साथै विभिन्न स्थानीय कलाकारका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


अध्यक्ष हरिगोविन्द गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथी सांसद पिएर्स, ग्रिनविच बरोकी काउन्सिल लिडर डेनिस हाइल्याण्ड, काउन्सिलरहरु डेभिड गार्डनर, डेनिस स्कट माकडनल्ड, एञ्जिला कोर्नफोर्थ, म्याथु मरो, एनआरएनज यूके उपाध्यक्ष पुनम गुरुङ, सोसाइटीका सल्लाहकार एलएन पाण्डे लगायतले शुभकामना मन्तव्य राख्दै नेपाली नयां वर्षको शुभकामना व्यक्त गरेका थिए । सोसाइटीकी उपाध्यक्ष शर्मिला हरिाचन थकालीले स्वागत मन्तव्य दिएकी थिइन् भने जित रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो जसको सञ्चालन सुर्य गुरुङ र मञ्जु भण्डारी खरेलले गरेका थिए ।

त्यसक्रममा नेपालबाट आएका चर्चित संगीतकार बसन्त सापकोटाका साथै लोकदोहोरी गायक रमेशराज भट्टराई र गायिका चन्द्रा कार्कीले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । स्थानीय कलाकारका केहि नृत्य तथा गीतबाट समेत सहभागीले मनोरञ्जन लिएका थिए ।

कार्यक्रमको सुरुमा बालबालिकाको समुहले गरेको गायत्री मन्त्र उच्चारण र नेपाली राष्ट्रिय गानको प्रस्तुतिले सहभागीको मन जितेको थियो । नेवार समुदायको परमपरागत धिमे बाजाको प्रस्तुति पनि खुब आकर्षक थियो ।

विभिन्न आकर्षक पुरस्कारसहितको राफल ड्र पनि कार्यक्रममा गरिएको थियो । पहिलो पुरस्कार विजेताले १ तोला सुन जितेका थिए भने दोस्रो पुरस्कार आधा तोला सुनको थियो । प्लमस्डिस्थित बर्मा ज्वेलर्सबाट प्रायोजित उक्त पुरस्कारका विजेता दिपक थापाले आधा तोला सुनको सो पुरस्कार बुद्ध फाउण्डेसनले कपिलवस्तुमा निर्माण गरिरहेको बृद्धाश्रमलाई हस्तान्तरण गरेका थिए ।

नयां वर्ष कार्यक्रमको संयोजन सोसाइटीका सचिव जिवन सेनले गरेका थिए ।

तस्बिरहरु : गुणदेव घिमिरे