६ बैशाख २०८१, बिहीबार
Follow Us

११ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएन नवौं क्षेत्रिय सम्मेलन सम्पन्न

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७३, सोमबार ०२:१८

न्यूजर्सी, गैरआवासीय नेपाली संघको नवांै क्षेत्रिय सम्मेलन अगष्ट २७ र २८ अमेरिकाको न्युजर्सी शहरमा ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनको मुख्य नारा रहेको “भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड” का विषयमा सम्मेलनबाट आएका सुझावहरुलाई समावेस गर्दै अवधारणालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसी) लाई जिम्मा दिने निर्णय गरेको छ । समयानुकुल संस्थाको संरचना सुधार्न गर्नका लागि यस विषयलाई अगाडी सारेको बताउँदै संघका अध्यक्ष शेष घलेले यो शुरुवातको चरणमा प्रवेश गरेको बताए । सम्मेलनमा भुकम्पपछिको पुर्ननिर्माण, संस्थाको संस्थागत र भौतिक सुधार एवं संगठन विस्तारमा केन्द्रित रहेको थियो ।
समापन समारोहमा प्रमुख अतिथि सुभाषचन्द्र नेम्वाडलगायत सस्थापक अध्यक्ष डा उपेन्द्र महतो अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीको उपस्थिति रहेको थियो ।

जारी गरेको ११ बुँदे घोषणापत्र जस्ताको तस्तै ।

१. देशको समृद्धि हाम्रो चाहना हो । राजनीतिक स्थिरता त्यसको पहिलो आधार हो । त्यसैले यो सम्मेलन सबै पक्षको सहमतीमा संविधान कार्यान्वयन गर्दै देशलाई स्थायित्व प्रदान गर्न सम्र्पूण दलहरुलाई आग्रह गर्दछ । साथै, संविधान कार्यान्वयनको क्रममा बन्ने नागरिकता लगायतका ऐनहरुमा गैरआवासीय नेपालीहरुको भावना र मर्म समेट्न पनि यो सम्मेलन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।

२. भुकम्प प्रभावितहरुको लागि घर निर्माण गर्नेे प्रतिवद्धता अनुसार गोर्खाको लाप्राकमा नमूना बस्ती निर्माण गर्ने निष्कर्षसहित सोही ठाउँमा नै सम्माननीय राष्ट्रपति बिद्यादेवि भण्डारीज्युको उपस्थितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारी पत्रमा हस्ताक्षर भएको प्रति यो सम्मेलन खुसी ब्यक्त गर्दछ । साथै संघले बस्ती निर्माणको लागि प्राविधिक कार्य अगाडि बढाईसकेको अवस्थामा लाभग्राहिले पाउने जग्गा लगायतका सरकारी पक्षबाट गरिदिनुपर्ने कार्य तत्काल पुरा गरिदिन यो सम्मेलन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

३. गैरआवासीय नेपाली संघले लामो समय देखि भन्दै आएको र सरोकारको बिषय रहेको खुल्ला बिश्वबिद्यालय ऐन संसदबाट पारित भएकोमा सम्बन्धित समिति लगायत सिंगो ब्यवस्थापिका संसदप्रति हार्दिक आभार प्रकट गर्दछ ।

४, गैरआवासिय नेपाली संघलाई आर्थिक तथा सामाजिक विकासको साझेदार बनाउने संघको सातौं विश्व सम्मेलनको घोषणापत्रको बुँदा नम्बर दुईको निर्णयलाई कार्यन्वयन गर्न यो सम्मेलन भिजन २०२० एण्ड बियोण्ड अवधारणा प्रस्तुत गरियो । प्रस्तुत अबधारणामाथी भएको छलफलका क्रममा प्राप्त सुझावहरुलाई समेट्दै यो अवधारणालाई अगाडी बढाउन अन्तर्राष्टिय समन्वय परिषद आईसिसिलाई जिम्मा दिन यो सम्मेलन निर्णय गर्दछ ।

५. नेपालको उद्यमशिलता बिकास तथा ब्यापार व्यवासाय प्रवद्धनको लागि सम्बन्धित मुलुकहरुको दुतावाससंग समन्वय गर्दै दोहोरोकर मिनाहाको लागि पहल गर्न यो सम्मेलन नेपाल सरकारसंग आग्रह गर्दछ ।

६. नेपालको पर्यटन प्रवर्धनमा गैरआवासीय नेपालीहरुको विशेष भूमिका रहनु पर्दछ भन्ने कुरा आत्मसात गर्दै पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रमहरु हरेक देशमा गर्ने र नेपालको पर्यटन बिकासमा खुलेर सहयोग गर्न यो सम्मेलन प्रतिवद्धता जाहेर गर्दछ ।

७. नेपाल सरकारको सेवालाई बैदेशिक रोजगारमा रहेका कामदारहरूसम्म सहज पार्न, लेबनान र इराकमा सरकारी उपस्थिति तथा साउदी, युएई जस्ता मुलुकहरूमा नियोगको बिस्तार तथा आवश्यक कानूनी सेवा समेत प्रदान गर्नेगरी क्षमता अभिबृद्धि गर्न र बैदेशिक रोजगारमा न्याय, उद्धार र क्षतिपूर्तिका लागि कानूनले निर्दिष्ट गरेका पक्षहरूलाई जिम्मेवार बनाउन नेपाल सरकारसंग यो सम्मेलन माग गर्दछ । साथै यो सम्मेलन, बैदेशिक रोजगार नीति निर्माण गर्दा गैरआवासीय नेपाली संघको उचित प्रतिनिधित्व गर्दै पीडित कामदार तथा घरेलु महिलाहरूको तत्काल उद्धार गर्न साधन स्रोत सहितको द्रुत उद्धार संयन्त्रको निर्माण गर्न पनि माग गर्दछ ।

८. स्वदेशमा लगानी बढाई रोजगारका अवसरहरू अभिबृद्धि गर्दै बैदेशिक रोजगारमा गएकाहरुको पुनस्र्थापना एवं सामाजिक सुरक्षा, संचय कोष र बिमा प्राप्तिको लागि नेपाल सरकारसंग यो सम्मेलन अनुरोध गर्दछ ।

९. बिदेशमा जन्मिएका नेपाली एकल महिलाका सन्तान नागरिकताबिहीन भएको त्यस्ता नावालकहरुलाई नागरिकता तथा ट्राभल डकुमेन्ट प्रदान गर्नका लागि उपयुक्त कानुन निर्माण गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ ।

१०. गैरआवासीय नेपालीको उल्लेख्य संख्या बढेका देशमा नेपाली दुताबास स्थापना गर्न नेपाल सरकारसंग यो सम्मेलन माग गर्दछ । साथै त्यस्ता देशका दुताबास नेपालमा स्थापना गर्न पनि यो सम्मेलन आवस्यक ठान्दै उचित पहलका लागि आग्रह गर्दछ ।

११. बिदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई गैरआवासीय नेपाली संघमा समावेश गर्दै स्वदेशमा संचालन भइरहेका युुवा सम्बन्धी कार्यक्रमहरुमा सहभागिता गराउदै जान यो सम्मेलन प्रतिवद्धता जाहेर गर्दछ ।