१५ बैशाख २०८१, शनिबार
Follow Us

एक बेलायती पत्रकारले भारतको उडाए धज्जी

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७३, सोमबार ०५:३९

लन्डन । एक बेलायती पत्रकारले भारतको धज्जी उडाएका छन् । ट्वीटरमा बेलायती पत्रकार पियर्स मोर्गनले भर्खरै सम्पन्न ओलम्पिक प्रतियोगितामा भारतको प्रदर्शनलाई लिएर आफ्नो धारणा राखेका थिए । एउटा अखबारको समाचारलाई रि–ट्वीट गर्दै उनले लेखेका छन्, ‘एक अर्ब २० करोड जनसंख्या भएको देशले पराजित भएको दुई मेडलको खुशी मनाइरहेको छ, कति लाजमर्दो हो यो ?’
ट्वीटरमा ५१ लाखभन्दा बढी फलोअर भएका मोर्गनको यस्तो प्रतिक्रियापछि भारतमा निकै हलचल मच्चियो । भारतीयहरुले उनलाई निशाना बनाउँदै ट्वीटरमै कमेन्ट गर्न थाले ।

केही भारतीयले कुनै पनि देशको जनसंख्या र खेलमा त्यो देशले पाउने मेडलबीच कुनै प्रकारको सम्बन्ध हुन नसक्ने दाबी गरे भने केहीले क्रिकेट खेल जन्माउने मुलुक बेलायतले क्रिकेट विश्वकप अहिलेसम्म जित्न नसकेको उदाहरण दिए ।

भारतीयहरुले एकपछि अर्को गर्दै आफूलाई ‘ट्रोल’ गर्न थालेपछि मोर्गनले अर्को ट्वीट गरे, ‘ट्रोल गर्नका लागि भारतीयलाई अवश्य स्वर्ण पदक जान्छ, अफसोच, उनीहरुको खेलाडी पनि यस्तै सक्षम भइदिएको भए !’

भारतीयहरुले आफ्नो ट्वीटमा निकै चासो राखेको र धमाधम कमेन्ट गर्न थालेको महसुस गरिरहेका उनले फेरि ट्वीट गर्दै लेखेका छन्, ‘एक अर्ब २० करोड नागरिक, ओलम्पिकमा एउटा पनि स्वर्ण पदक छैन । यो लाजमर्दो कुरा नै हो । यसरी हल्ला नगर बरु तालिम लिन जाओ ।’ (एजेन्सी)