६ बैशाख २०८१, बिहीबार
Follow Us

आज अक्षय तृतीया पर्व, सर्वत र सातु दान

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०७५, बुधबार ०५:२३

काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ ।

शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ । आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ ।

यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुनुहुने विश्वाससमेत छ ।

यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूर्य यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमलाई जानकारी दिनुभयो । सर्वत र सातु दान गर्नेले यो लोकमा सुख र परलोकमा सद्गति पाउने धार्मिक विश्वास छ । यसरी दान गर्नेका पितृ पनि प्रसन्न हुने वैदिक ग्रन्थमा व्याख्या गरिएको छ । समुद्रमा पानी सकिए पनि आजका दिन दान गर्ने पुण्य नसकिने अध्यक्ष गौतमले बताउनुभयो ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।