६ चैत्र २०८०, मंगलवार
Follow Us

अरुले बोलेको ‘हावा’ हो, ९ गते एकता हुन्छ : नेम्वाङ

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०७५, बुधबार ०७:४२

सुवास नेम्वाङ, एमाले नेता
नेकपा एमाले संसदीय दलका उपनेता सुवाङ नेम्वाङले एकता प्रकृया अध्यक्ष तहमा पुगेको जानकारी दिए । पार्टी एकता संयोजन समितिका सदस्यसमेत रहेका नेम्वाङले अध्यक्ष तहबाट सार्वजनिक भएका अभिव्यक्तिबाहेक अरुले बोलेका सबै कुरा ‘हावा’ भएको नेम्वाङले बताए । ९ गते नै एकता सम्भव भएको उनको दाबी छ । नेम्वाङले भने, ‘बैशाख ९ गते नै पार्टी एकता हुन्छ भन्ने कुरामा म आशावादी छु ।’ यिनै विषयमा नेता नेम्वाङसँग राज ढुंगानाले गरेको कुराकानी

० लामो समयपछि पार्टी एकता कार्यदलको बैठक बस्यो । यसले के सन्देश दिन्छ ?
– पार्टी एकता हुँदैन भन्ने शंका गर्ने आधार थिएनन । हामीले सबै कुरा प्रष्टसँग राखेका थियौं । प्रधानमन्त्रीज्यूको भारत भ्रमणभन्दा अघिल्लो दिन वैशाख ९ गते पार्टी एकता हुन्छ भनेर समय तोकिएको थियो । प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि दुवै पार्टीका अध्यक्षले भेट गर्ने र पार्टी एकता संयोजन समितिको बैठक राखेर एकतालाई अगाडि बढाउने, त्यसैको आधारमा बैशाख ९ गते एकता गर्ने निर्णय भएको थियो । प्रधानमन्त्री भारत भ्रमणबाट आइसकेपछि बैठक बस्ने भनिएको थियो, माओवादी अध्यक्ष प्रचण्ड विरामी पर्नुभयो । र बैठक हुन सकेन ।

० यसबीचमा माओवादी नेताहरुबाट आएको अभिव्यक्तिलाई कसरी बुझ्ने ?
– पार्टी एकता संयोजन समितिले दुईवटा कार्यदल बनायो, त्यो कार्यदलमा म पनि थिएँ । त्यो कार्यदलले मेहनतका साथ आफ्ना प्रतिवेदन तयार ग¥यो । त्यो प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझायो । समितिले त्यसलाई अध्ययन गर्दै पार्टी एकतालाई अगाडि बढाउने काम ग¥यो । कार्यदलमा बनाएका प्रतिवेदनहरु संयोजन समितिमा आयो । संयोजन समितिको बैठक बसेर निष्कर्षमा पुग्नुअघि दुई पार्टीका अध्यक्ष वान टु वान छलफल गरेर निष्कर्षमा पुग्ने प्रयास गर्ने प्रकृया अपनाइयो । एकताको प्रकृया हाम्रा दुई अध्यक्षको तहमा छ, उहाँहरुले गर्दै हुनुहुन्छ ।
त्यसैले दुई अध्यक्षबाहेक अरुले बोलेको कुरा त्यसलाई सुनौं, ग्रहरण गरौं, तर, त्यसलाई लिएर धेरै टिप्पर्णी गर्नतिर नलगौं । त्यो आधिकारिक होइन, दुईवटा अध्यक्षले बोलेका कुरा आधिकारिक हो । संयोजन समितिको बैठक विहीबार बस्छ, त्यसअघि अध्यक्षहरुबीच कुराकानी हुन्छ । त्यसपछि एकताको प्रकृया उहाँहरुले नै अगाडि बढाउनु हुन्छ ।

० प्रधानमन्त्री भारत भ्रमणबाट फर्किसकेपछि माओवादीसँग तिक्ता बढेको होइन ?
– म यो कुनै पनि कुरालाई मान्दिनँ । जसले बोल्ने हो, बोल्ने काम उसैले गर्नुपर्छ । जसको जिम्मेवारी हो, उसैले त्यो काम गर्नुपर्छ । त्यसैले सबैले बोल्न सक्नुहुन्छ, तर मैले अनावश्यक रुपमा बाहिर बोल्दै हिडे, म राम्रै सोचाइ राखेर पार्टी एकता होस् भन्ने चाहँदा चाहदै पनि सार्वनिक रुपमा बोल्दै हिड्दा त्यो कामलाई सहयोग पुग्छ कि असहयोग हुन्छ ? यो कुरा साहै्र ध्यान पु¥याउनुपर्छ । यसलाई बाहिर सार्वजनिक टिप्पणीको विषय नबनाउ है भनिएको पनि हो । कसले कहाँ के बोल्नुभो, म त्यसलाई खण्डन गर्दिन् । एमाले अध्यक्ष केपी शर्मा र माओवादी अध्यक्ष प्रचण्डको तहमा प्रकृया पुगेको छ, उहाँले बोलेको मात्र आधिकारिक हुन्छ, मैले बुझेको यत्ति हो ।

० दुई अध्यक्षबाहेक अरुले बोलेका कुरा ‘हावा’ हुन् ?
– निश्चय नै । केन्द्रीय संयोजन समितिमा अरु नेताहरु पनि हुनुहुन्छ, उहाँहरुले केन्द्रीय संयोजन समितिमै आफ्नो भूमिका खेल्नु हुन्छ । बाहिर बोलेर हिड्नुले अर्थ हुँदैन । प्रकृया हामीले के अपनाइ रहेका छौं, त्यो प्रष्ट छ । हामी सबैले त्यो प्रकृयालाई सहयोग गरौं भनेर म आग्रह गर्दछु ।

० कसरी दुई पार्टी संयोजन हुँदैछ ?
– पार्टी एकता संयोजन समितिले दुईवटा कार्यदल बनाएको थियो, त्यो कार्यदलले प्रतिवेदन बनाएर संयोजन समितिलाई बुझाएको छ, कार्यदलले बुझाएको प्रतिवेदनलाई संयोजन समितिले निष्कर्षमा पु¥याउने काम गरोस् । त्यसैको आधारमा वैशाख ९ गते नै पार्टी एकता गर्नका लागि अगाडि बढ्ने काम होस् भनेर हामीलेस्थायी कमिटीको बैठकमा प्रष्ट शब्दमा बोलेका छौं ।

० समानताकि प्रतिशतका आधारमा पार्टी एकता ?
– त्यसका लागि कार्यदलले एउटा आधार तयार गरेको छ । त्यही आधारमा पार्टी एकता संयोजन समितिले निर्णय गरिहाल्छ नि । मैले भन्न खोजेको कुरै यही हो । यो आधारमा हुनुपर्छ भनेर मैले अहिले बोले भने, अरुलाई त्यो होइन भन्ने लाग्छ । त्यसकारण मैले अहिले त्यो कुरा किन बोल्ने ? यो कुरा संयोजन समितिमा छलफल हुनुपर्छ ।

० पार्टी एकता बैशाख ९ गते सम्भव छ ?
– सम्भव छ, अहिले पनि हामी आशावादी छौं ।