१३ बैशाख २०८१, बिहीबार
Follow Us

यो पर्खाइ अब खेर जाँदैन : नेता नेपाल

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०७५, बुधबार १३:०३

बर्दिवास । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज नेकपा (एमाले) बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभई एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकीकरण नटर्ने बताउनुभयो ।

“दुवै कम्युनिष्ट पार्टीबीच एकीकरणको कुरा अब घोषणा हुन् मात्र बाँकी छ”, उहाँले भन्नुभयो । दुवै पक्षका नेताहरुको व्यस्तताका कारण एकीकरणको कामले अपेक्षित गति लिन नसकेको उहाँको भनाइ थियो । वैशाखभित्रै एकीकरण घोषणा भइसक्ने उहाँले दाबी गर्नुभयो ।

“दुबै पक्षका कार्यकर्ता र जनता एकीकरण पर्खेर बसेका छन्”, नेपालले भन्नुभयो, “यो पर्खाइ अब खेर जाँदैन ।”

प्रदेश नं २ को विकास र समृद्धिका लागि वामगठबन्धन र वर्तमान सरकारले योजनाबद्ध काम थाल्ने नेता नेपालले बताउनुभयो । “हामी निकट भविष्यमै प्रदेश नं २ मा बृहद् उद्यम भेलाको आयोजन गर्दैछौँ”, उहाँले भन्नुभयो । प्रदेश नं २ को विकासका लागि सङ्घीय सरकार प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको नेपालको भनाइ थियो ।

नेता नेपालले बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय पुगेर आर्थिक रुपले कमजोर दुई बालबालिकालाई विद्यालय भर्ना गराई स्वेच्छिक अभिभावकत्व लिनुभएको छ । औरही–१ की सात वर्षीया सवनम खातुन र बर्दिवास–१४ का पाँच वर्षीय कृष्ण महराको अभिभावकत्व उहाँले लिनुभएको हो । सबनम कक्षा एकमा तथा कृष्णलाई बाल कक्षामा भर्ना गरिएको छ ।