१५ बैशाख २०८१, शनिबार
Follow Us

सूचना केन्द्रलाई प्रवासबाट सहयोग

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७३, सोमबार ०५:४०

बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले स्थापना गर्न लागेको सूचना केन्द्रको लागि जापानबाट एक युवाले रु २० हजार सहयोग गर्नुभएको छ । जिल्लाको अमलाचौर–४ मा स्थायी घर भई हाल जापानमा रहनुभएका अर्जुन लामिछानेले केन्द्रको लागि सहयोग गर्नुभएको हो । उक्त रकम बराबरको ‘ चेक’ आइतबार लामिछानेको बहिनी लक्ष्मीले महासङ्घका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाई हस्तान्तरण गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका सदस्य समेत रहनुभएका लामिछाने रोजगारीका लागि गत वर्ष जापान पुग्नुभएको थियो । आधुनिक प्रविधिमैत्री सूचना केन्द्र सञ्चालनको लागि आफूले सहयोग गरेको लामिछानेले बताउनुभयो ।
विद्युतीय पुस्तकालय, सूचना–प्रविधिका उपकरण, कम्प्युटर, इन्टरनेट, टेलिफोन, फ्याक्सलगायतका सेवा दिन महासङ्घले सूचना केन्द्र खोल्ने तयारी गरेको हो । देश–विदेशमा रहेका महासङ्घका शुभेच्छुकलगायत विभिन्न निकायबाट सहयोग जुटाएर सूचना केन्द्र सञ्चालनमा ल्याइने महासङ्घका अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

सहज र निःशुल्क रुपमा सूचना, प्रविधि सेवा जनस्तरमा पु-याउन केन्द्र सहयोगी हुने ठानिएको छ ।