१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए पुर्वअध्यक्ष लामिछाने लण्डन आउने

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७५, बुधबार १९:१२

लण्डन । गैरआवासीय नेपाली संघका पुर्वअध्यक्ष जीवा लामिछाने लण्डन आउने भएका छन् । लामिछाने

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बेलायत र युरोप शाखाको संयुक्त आयोजनामा लण्डनमा हुने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगितामा भाग लिन लण्डन आउन लागेका हुन् ।
आगामी आइतवारको लागि तय प्रतियोगितामा बेलायत र युरोपका विभिन्न देश गरी कुल १० देशबाट आउने ४० बढि प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् । कार्यक्रममा गैरआवासीय नेपाली संघका पदाधिकारी लगायत संस्थापक नेता रामप्रताप थापा समेत सहभागी हुने भएका छन् ।
प्रतियोगितामा बेलायतबाहेक डेनमार्क, जर्मनी, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड,फिनल्याण्ड, स्विजरल्याण्ड, इटली र स्पेनबाट प्रतियोगीहरुले प्रतिशप्रर्धा गर्ने छन् ।

आयोजक ईनास बेलायतले गतबुधबार सांझ लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा एक प्रेस मिट आयोजना गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको थियो ।

यो प्रतियोगितामा नृत्य र गायनतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ । इनास युरोप महादेशस्तरीय एकल नृत्य प्रतियोगिताको यो छैठौं संस्करण हो भने गायन प्रतियोगिताको तेस्रो । नृत्य तथा गायन दुवै विधातर्फ होस्ट देश बेलायतबाट ३र ३ जना प्रतियोगीले भाग लिनेछन् भने अन्य सहभागी देशबाट २ र२ जना प्रतियोगी आउनेछन् । प्रतियोगितामा सहभागी हुने हरेक देशस्थित ईनास शाखाले आफ्ना प्रतियोगीहरु अडिसनमार्फत चयन गरिसकेका छन् ।

प्रतियोगितामा दुवै विधाका विजेतालाई ७ सय १ युरो नगदसहित ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ । गायनतर्फका विजेतालाई एउटा गीत रेकर्ड गराउने अवसर दिइनेछ भने नृत्यतर्फका विजेतालाई अनुकुलताअनुसार म्युजिक भिडियोको मौका पनि दिने योजना आयोजकको छ । त्यसबाहेक दुवै विजेतालाई १ वर्षसम्मका लागि ईनास सद्भावना दूत घोषणा गरिनेछ । नृत्य तथा गायन दुवै विधाका दोस्रो र तेस्रो हुनेले क्रमश ५ सय १ युरो र ३ सय १ युरोसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताका लागि नेपालबाट समेत कैयौं कलाकर्मीहरु बेलायत आउने भएका छन् । नारायण पुरी, धिरेन शाक्य, कृष्णभक्त महर्जन, दमन रुपाखेती, मधु क्षेत्री, परशुराम रिजाल लगायत लण्डन आउने पक्का भइसकेको तथा अन्य केहिको भिसा प्रक्रिया चलिरहेको बताइएको छ । अमेरिकाबाट समेत केहि नेपाली कलाकारहरु आउने तयारी छ । प्रतियोगितामा निर्णयक प्रतियोगी देशका ईनास कार्यसमितिमा आबद्ध कसैलाई पनि नराख्ने आयोजकले बताएका छन् । नेपालबाट आउने अतिथी कलाकारहरुमध्येबाट निर्णयकहरु चयन गरिनेछ ।

आउंदो अप्रिल २२ तारिखका दिन प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा दिउंसो ३ बजेदेखि प्रतियोगिता सञ्चालन हुनेछ । जसमा नृत्य तथा गायन दुवै विधाका प्रतिस्पर्धीले २र २ वटा प्रस्तुति देखाउन पाउनेछन् । प्रतियोगिता प्रत्यक्ष हेर्न चाहने दर्शकका लागि २० पाउण्डको टिकट लाग्नेछ ।

त्यसअघि अप्रिल २१ मा भने वुल्वीचको मुलग्रेभ प्राइमरी स्कुलमा दिउंसो ४ बजेदेखि कार्यक्रम सुरु हुनेछ । जुन दिनमा ईनास युरोपको छैठौं बैठक, वार्षिक कार्ययोजना निर्माण, बन्दसत्र र रात्रीभोज लगायतका कार्यक्रम तय छन् ।