७ बैशाख २०८१, शुक्रबार
Follow Us

ओलीको रारा तालभित्रको रहस्य खुलासा

sarusaru
६ बैशाख २०७५, बिहीबार ०४:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते मुगुको रारा तालबाट देशवासीका नाममा सम्बोधन गरेर चर्चा कमाए । उनले रारा तालको पर्यटन र प्रवद्र्धन गर्न भन्दै सम्बोधन गरेको जनाएका छन् । तर, राराबाट देशवासीका नाममा सम्बोधन गर्नुको अर्कै रहस्य रहेको खुलासा भएको छ ।

ओलीको जीवनीमा बन्दै गरेको फिल्म ‘रातो सूर्य’का लागि आवश्यक पर्ने दृश्य लिन राराबाट देशवासीका नाममा ओलीको सम्बोधन मिलाएको रहस्य खुलेको हो ।

त्यो पनि एमालेकै एकजना प्रभावशाली नेताले नै खुलासा गरेका हुन् । सरकारी ढुकुटी खर्च गरेर बडो तामझामका साथ ओलीको सम्बोधनको व्यवस्था गरिएको एमालेका एक नेताले बताए ।

‘रातो सूर्य’लाई दीपेन्द्र दाहालले निर्देशन गरिरहेका छन् । ‘रातो सूर्य’का छायाँकार सानुकुमार महर्जनले रारा तालबाट ओलीले सम्बोधन गर्दै गर्दा विभिन्न एङ्गलबाट छायाँकन गरेको देखेपछि एमालेका नेताहरू दङ्ग परेका थिए । महर्जनले छायाँकन गरेको देखेपछि एमालेका एक नेताले भने,‘कुरो त यस्तो पो रहेछ ।

ओलीको फिल्म बनाउन पो यति ठूलो रकम खर्च गरेर राराबाट देशवासीका नाममा सम्बोधन गरिएको रहेछ ।’ ‘रातो सूर्य’को टिमलाई ओलीले आफ्ना हरेक कार्यक्रममा अलग व्यवस्था गरेर सँगै लैजाने गरेका छन् ।

‘रातो सूर्य’ फिल्म निर्माण टिमले आफै खर्च गरेर ओलीलाई रारा तालमा लैजाँदा खर्च बढी हुने भएपछि देशवासीका नाममा सरकारी ढुकुटीबाट खर्च हुने गरेर व्यवस्था मिलाइएको उच्च स्रोतको भनाई छ ।

ओलीसँग रारा पुगेको ‘रातो सूर्य’ फिल्मको टिमले पूरै दृश्य खिचेको थियो । सम्बोधन गर्दै गरेका बेला ओलीको पछाडि रारा तालको डिलमा सर्वसाधारण हिँडेको दृश्य फिल्मका निर्देशक दाहालको निर्देशनमा राखिएको थियो । ओलीले चलाखीपूर्ण तरिकाले राज्यको करोडौँ रुपैयाँ सिध्याउने गरेर रारामा गरेको खेलवाडको एमालेभित्रै आलोचना भएको छ ।

फिल्मको छायाँकनका लागि भनेर गएको भए ओलीको आलोचना हुने थियो । उनले चलाखीपूर्ण तरिकाले फिल्मको छायाँकन राराबाट सकेर फर्किएका छन् । उनको यो कार्यको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वराज शर्माले फिल्म छायाँकनका लागि रारा तालबाट सम्बोधन गरिएको हो भने गम्भीर विषय रहेको बताए ।

‘रारा तालको पर्यटन प्रवद्र्धन गर्नु राम्रो कुरा हो’, शर्माले भने,‘तर, प्रधानमन्त्री ओलीज्यूले आफ्नो फिल्मका लागि राज्यको करोडौँ ढुकुटी रित्याएको हो भने त्यो अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो । जति विरोध गरे पनि कम हुन्छ ।’ ओलीको सचिवालयले फिल्म छायाँकनका बारेमा मुख खालेको छैन ।

‘रातो सूर्य’मा ओलीको बाल्यकालदेखि पारिवारिक र राजनैतिक जीवनीसमेत समेटिएको छ । बायोपीक फिल्ममा ओलीको वयस्क बेलाको ओलीको भूमिका अनुपम शर्माले गरेका छन् ।

वन्डर्स मुभिज एन्ड क्रिएटिभको प्रस्तुति रहने ‘रातो सूर्य’ मा ओलीको जीवनी समेट्न पाउनु आफ्नो लागि सौभाग्य भएको शुभमुहूर्तका बेला निर्देशक दाहालले बताएका थिए ।

‘रातो सूर्य’ फिल्ममा टीका पहारी, हरिहर शर्मा, विश्व बस्नेत, सुरवीर पण्डित, उत्तम केसी, केशव भट्टराई लगायत कलाकारले समेत अभिनय गरेका छन् ।