१३ बैशाख २०८१, बिहीबार
Follow Us

नयाँ विधान पारित, नेपाली क्रिकेटको निलम्बन फुकुवा हुनसक्ने

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०७५, बिहीबार १४:१२

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको बिशेष साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको सल्लाहकार समितिले बनाएको विधान जस्ताको तस्तै पारित गरेको छ । विधान पारित भएपछि नेपाली क्रिकेटमाथि आइसीसीले निलम्बनको सजाय फुकुवा हुन सक्ने बताइएको छ ।

बिहीबार काठमाडौंमा भएको विशेष साधारणसभाले क्यानका पूर्वअध्यक्ष बिनयराज पाण्डे नेतृत्वको सल्लाहकार समितिले बनाएको बिधान हुबहु पारित गरेको हो । गत भदौमा भएको विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको बिधानमा २७ ठाउँमा संशोधन गरेको थियो । जसलाई आईसीसीले अस्वीकार गरी पुनः संशोधन गर्न निर्देशन दिएको थियो ।

नेपाल क्रिकेट संघको विधान तेस्रो पटक संशोधन भएको हो । बिशेष गरी क्यानको निर्वाचनमा राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयबाट ७ जना प्रतिनिधि रहने व्यवस्थामा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले त्यस्लाई अस्वीकार गरेको थियो । आईसीसीको नीति अनुरुप विधान संशोधन गर्न चौतर्फी दवाव बढिरहेका बेला क्यानका साधारणसभाका प्रतिनिधिहरुले विधान जस्ताको तस्तै पारित गरेका हुन् ।

हुबहु बिधान पारित गर्न सहमत भएका हुन् । यस अघि साधारणसभालाई सम्बोधन गर्दै निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो अवस्था सबै सरकारी हस्तक्षेपको कारण निम्तिएको बताउनु भएको थियो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले विशेष साधारणसभा मार्फत क्यानमा देखिएका विवादलाई समाधान हुने विश्वास व्यक्त गर्नुभएको थियो । साधारणसभाको यो कदमले नेपाली क्रिकेटमाथि अब राजनीतिक हस्तक्षेप हुने सम्भावनाहरुलाई पनि टारेको छ ।