१२ बैशाख २०८१, बुधबार
Follow Us

दीपक मनाङे कारागार चलान

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०७५, शुक्रबार ०७:४०

काठमाडौं । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका गुन्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन् । बिहीबार साँझ पक्राउ परेका मनाङेलाई शुक्रबार जिल्ला अदालत उपस्थित गराइएको थियो । र, उनलाई डिल्लीबजार कारागार जलान गर्न अदालतले आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताए ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् । सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । पछिल्लो दुई सातादेखि भने उनी काठमाडौं आसपासमै थिए । उनको लोकेसन नुवाकोट ट्रेस भएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । तर, उनी फेला परेनन् ।

ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयम्भूबाट पक्राउ परेका थिए । यसअघि गौशालाबाट पेस्तोलसहित पक्राउ परेका अर्का गुन्डा नाइके गणेश लामा पनि डिल्लीबजार कारागारमै छन् ।