१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एमालेसँग एकता गर्न माओवादी केन्द्रीय कार्यालयमा बैठक

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७५, आईतवार ०४:३८

काठमाडौं । एमालेसँग पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यालयको बैठक बसीरहेको छ । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो । प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउनु भएको छ ।

दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात आज एकता घोषणा गर्ने तयारी थियो तर, कुरा नमिलेपछि एकता घोषणाको अर्को मिति निश्चित भएको छैन । यसबाट एकता हुने कि नहुने भन्ने अन्योल बढिरहेका बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मन्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् ।

माओवादी नेता जनार्दन शर्माले एकता हुनेमा शंका गर्नै नपर्ने बताए । उहाले ‘केही कुरा मिल्न बाँकी भएकाले केही दिन पछि सरेको बताउनु भएको छ । आजको केन्द्रीय कार्यालयको बैठक पनि एकता गर्ने विषयमा नै केन्द्रित छ । चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । ओली र प्रचण्डबीच हुँदै आएका छलफलले पनि निष्कर्ष निकाल्न सकेको छैन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको छ । लेनिनको १४८ औैं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन आह्वान गर्नुभएको हो ।

प्रचण्डले जारी गरेको सन्देशमा ‘पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरर्मा देशका सम्पूर्ण कम्युनिष्ट र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गरिएको छ ।

लेनिनको जन्म जयन्तीको अवसर पारेर आजभन्दा ६९ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । प्रचण्डले संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको मुख्य अभिभारा भएको बताउनु भएको छ ।

कम्युनिष्ट पार्टीहरुबीचको एकीकरण र समाजवादको आधार निर्माणका निम्ति संविधान कार्यान्वयनसँगै देशको आर्थिक समृद्धिका लागि लेनिनले तत्कालिन सोभियत संघमा पु-याएको योगदान स्मरण गर्दै प्रचण्डले संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको हाम्रो मुख्य अभिभारा भएको विज्ञप्तीमा लेखिएको छ ।