१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रिक्त पदाधिकारी प्रस्ताव गर्ने सभापति देउवाको तयारी

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७५, आईतवार ०४:४०

काठमाडौं । नेपाली कांग्रेसले रिक्त पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको जानकारी दिनुभएको छ ।

पौडेलका अनुसार, केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव राख्ने सम्भावना छ । कांग्रेसको विधानमा निर्वा्चित केन्द्रीय सदस्यहरुमध्येबाट १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रावधान छ । २ महिनाभित्र पार्टी सभापतिले पदाधिकारी मनोनित गर्नुपर्ने भए पनि देउवाले २ वर्ष गुज्रिनै लाग्दासमेत गर्नुभएको छैन । देउवा कार्यशैलीको पार्टी्भित्र आलोचना भइरहेका बेला उहाँले मनोनयनको तयारी गर्नुभएको हो ।

कांग्रेस स्रोतका अनुसार, उपसभापतिमा विमलेन्द्र निधि मनोनित हुने सम्भावना छ । तर यो पदमा गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले पनि दाबी गर्नुभएको छ । महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई सम्भावितका रुपमा हेरिएको छ ।

निर्वाचन समीक्षा र समसामयिक राजनीतिबारे धारणा तय गर्न गत चैत ९ गतेबाट कांग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको थियो । बैठककै क्रममा चैत १६ गते पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएपछि बैठक स्थगित गरिएको थियो । त्यही स्थगित बैठक शुक्रबार बस्ने भनिए पनि अधिकांश केन्द्रीय सदस्यहरु काठमाडौं बाहिर भएको भन्दै आजलाई सारिएको थियो ।