७ बैशाख २०८१, शुक्रबार
Follow Us

जुनसुकै हालतमा पार्टी एकता हुने ओली–दाहालको उद्घोष

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७५, आईतवार १४:४०

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीचको एकता कुनै हालतमा नरोकिने दृढता व्यक्त गरेका छन् । लेनिन जयन्ती एवं नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रबीच एकता घोषणाबाट फर्कने ठाउँ नरहेको प्रष्ट पारेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एकता कतै हिँड्दा हिँड्दै फेला पारेर टिपेर नल्याएको, यो त आफूहरुले अथक प्रयास गरेर निर्माण गरेको भन्दै अब अरुलाई दोष लगाएर पन्छने ठाउँ नभएको प्रष्ट पारे । एकता बिथोल्छु भन्ने कसैलाई लागेको छ भने त्यो दिवास्वप्नमात्र हुने उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘अब खुट्टा मिलेन भनेर जुत्ता नयाँ खोज्ने होइन, तासतुस, ठोकठाक पारेर भए पनि लगाउने हो ।’

उनले भने, ‘विगतमा कसले के गर्‍यो भनेर खोजेर बस्ने होइन, अगाडी बढेर देश र जनताको समृद्धिमा लाग्ने हो ।’एमाले र माओवादी नभएको भए देशमा संविधान नै नआउने र चुनाव पनि नहुने उनको दावी थियो । सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीबीचको एकता कुनै हालतमा नरोकिने दृढता व्यक्त गरे । हल्ला गरेर नभई सबैलाई आश्चर्यमा पार्ने गरी एकता घोषणा गरिने भन्दै उनले हल्ला गर्दा एकता भाँड्ने तत्व सक्रिय हुनेमा सजकता अपनाइने बताए ।

उनले एकता गर्नु सजिलो नभएको भन्दै दम्भ र अहंकारबाट सतर्क रहनुपर्नेमा दुबै पार्टीका नेता कार्यकर्तालाई सचेत गराए । उनले ठूलो र सानो पार्टी बन्दा के कस्ता अहंकार र दम्भ पलाउने रहेछ र जनताले कसरी दण्डित गर्दा रहेछन् भन्ने दुबै दलको नेतृत्वलाई भलिभाँति ज्ञान भएको बताए ।

आफू र केपी शर्मा ओलीलाई पार्टी एकताबाट दायाँबायाँ गर्ने छुट नभएको भन्दै अध्यक्ष दाहालले एकता सम्मान, समानता र न्यायोचित आधारमा गर्न दुई अध्यक्षबीच सहमति बनेको पनि जानकारी दिए । यसअघि दिउँसो १२ बजे गर्ने भनेर समय तय गरिएको कार्यक्रम ब्यानर विवादका कारण शुरु हुँदा ४ बजेको थियो । लेनिन जयन्तीको अवसर पारेर आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर नभएको भन्दै माओवादी कार्यकर्ताले होहल्ला गरेपछि अर्को ब्यानर राखेर कार्यक्रम शुरु गर्न समय लागेको थियो ।

ब्यानरमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारी एवं दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालका तस्वीरमात्र राखेको भन्दै माओवादी कार्यकर्ताले होहल्ला गरेका थिए । ब्यानरमा लेनिन र माओको तस्वीर छुट्नुमा कमजोरी रहेको दुबै पार्टी अध्यक्षले स्वीकारेपछि फेरि पुरानै ब्यानर र माओवादीका तर्फबाट अर्को ब्यानर पनि राखेर कार्यक्रम शुरु गरिएको थियो ।

आजै पार्टी एकता गर्ने तयारी गरेका दुई दलबीच केही विषयमा कुरा नमिल्दा घोषणा कार्यक्रम भने पछि सरेको छ । दुई दलले गत असोज १७ गते एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन बनाएर निर्वाचनमा गएका थिए ।