१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुकुम्बासी बालबालिकालाई साढे दुई लाख बराबरको छात्रबृत्ति

sarusaru
१० बैशाख २०७५, सोमबार ०३:२९

चितवन- दक्षिण चितवनको माडीस्थित पाण्डवनगरको सुकुम्वासी बस्तीका बोटे, माझीलाई रु दुई लाख ४० हजार बराबरको छात्रवृत्ति सहयोग गरिएको छ ।

लायन्स क्लब अफ चितवन सौराहाको संयोजनमा यहाँका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति सहयोग गरिएको हो । छात्रवृत्तिका लागि अमेरिकन नागरिकले आर्थिक सहयोग गरेका थिए ।

आठ जना बालबालिकालाई पोषाकसहित एक वर्षलाई पुग्ने स्टेशनरीलगायत सामग्री वितरण गरिएको लायन्स क्लब अफ चितवन सौराहाको वर्ष २०१८÷१९ का अध्यक्ष अरुण रिजालले जानकारी दिनुभयो ।

यसरी सहयोग गर्ने अमेरिकन नागरिकमा डेविट किन्सले, रिचर्ड तथा बब एण्ड केटी र स्टिभ एण्ड जोन दम्पती रहेका थिए । सोही क्रममा स्कूल जान प्रेरित गर्ने उद्देश्यले ३० जनाभन्दा बढी बालबालिकालाई समेत स्टेशनरी सहयोग गरिएको सौराहा लायन्सकी सदस्य सानी रिजालले जानकारी दिनुभयो ।

यता चितवन समाज जापानद्वारा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत बिरामीलाई आइतबार रु ४० हजार आर्थिक सहयोग गरिएको छ । विपन्न परिवारकी क्यान्सर रोगी आकृति थापालाई सो रकम हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर रहेको जानकारी आएपछि जापानमा बस्ने नेपालीबाट सहयोग संकलन गरी पठाएको रकम सहयोग गरिएको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

समितिले यसअघि पनि विभिन्न क्षेत्रमा असहाय, बिरामीलाई रकम संकलन गरेर लाखौँको सहयोग गर्दै आएको छ ।
रासस