१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राणा प्रधानमन्त्री र थापाथली दरबार

sarusaru
१० बैशाख २०७५, सोमबार ०४:२८

काठमाण्डौ-वि.सं. १९०३ मा जंगबहादुर शक्तिशाली प्धानमन्त्री भएपछि थापाहरुको थलो , थापाथलीमा विशाल ५ तले दरबार बनाउन लगाए । दरबारको चौँथो तलामा जंगबहादुर बस्थे भने उनका रानी –महारानीहरु तल्लो तलामा बस्थे ।जंगबहादुरका कान्छा भाइ धीरशमसेरका जेठा छोरा वीर शमसेर ग्रहण लागेको अवस्थामा मूल परी जन्मेकाले यही थापाथली दरबारमा ल्याएर पुतली महारानीको जिम्मा लगाइएको थियो । एक साँझ जंगबहादुर ओछ्यानमा पल्टेर निदाउन लागेको बेला कोही मानिस उनको कोठामा ढोका खोलेर बाहिर गएको चाल पाए तर अँध्यारो भएकोले उनले चिन्न सकेनन् । सशंकित भएका जंगबहादुर वि.सं. १९०७ मा यूरोप भ्रमणमा जाँदा बेलायतकी महारानी भिक्टोरियाले उपहारस्वरुप दिएको बन्दुक ताक्दै सो व्यक्तिलाई पछ्याउन थाले । रन्थनाउँदै जंगबहादुरले पछ्याएको व्यक्ति अरु कोही नभई खेल्दा खेल्दै जंगबहादुरको कोठामा लुकेका कलिला वीर शमसेर रहेछन् । यो थाहा पाएपछि जंगबहादुरले झण्डै आज मेरो हातबाट गोत्रहत्या भएन भनेर पसिना काढेका थिए । वि.सं. १९३३ मा जंगबहादुरको मृत्यु भएपछि पनि उनका रानी – महारानीहरु यही दरबारमा बस्थे । वि.सं.१९४२ को शमसेर राणाहरुको विद्रोह पछि यो दरबार देव शमसेरको हातमा गयो र जंगबहादुरका सन्तती यहाँ बस्न पाएनन् ।