१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराष्ट्रपति डा. यादवद्वारा देशको स्वाभिमानमा धावा

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७३, सोमबार १४:०२

काठमाडौं । सुन्दा पनि उदेक र अचम्म लाग्ने यो कहानी पूर्वराष्ट्रपति डा. रामवरण यादवको हो । स्वास्थ्योपचारका लागि साउन २० देखि ३० गतेसम्म भारतमा रहँदा पूर्व राष्ट्रपति यादवले आफ्नो गरिमामय व्यक्तित्वको ख्याल गर्न नसक्नु भएकाले यो विषय चर्चामा आएको हो । छोराछोरी र सुसारेसहित भारतको उच्च भीआइपी मेजमानीसाथ चण्डीगढ बसेर उहाँ साउन ३१ गते स्वेदश फर्कनुभयो । नेपाल र भारतमा उपचारको सम्भावना हुँदाहुँदै यादवलाई फेरि उपचारको नाममा अमेरिकाको न्युयोर्क जाने रहर जागेको बुझिएको छ । तर भारतमा उहाँको उपचार हुँदा भने पैसा खर्च भएको थिएन । यद्यपि सरकारले बिल बुझाएर पैसा दिने होइन, सोझै दिने निर्णय गरेको थियो । यादवले डाक्टरलाई समेत आफ्नो इच्छा पूरा गराउन पदीय मर्यादाले नसुहाउने रिपोर्ट लेखाउनु भएको विश्वस्त स्रोतले बताएको छ ।
न्युयोर्क घुम्ने रहर मेटाउन यादवले सरकारसँग एक करोड माग्नुभएको छ । ‘यादवको उपचारका लागि सरकारले ६० लाख रुपैयाँ सहायतास्वरूप दिने निर्णय यसअघि नै गरिसकेको छ,’ स्रोतले भन्यो, ‘तर उहाँले उक्त रकम लिन मान्नु भएको छैन, एकमुष्ट एक करोड लिने योजना छ ।’
चण्डीगढस्थित पोस्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च नामको शिक्षण अस्पतालमा सबै चेकअप सकेपछि उहाँको थप उपचार पनि त्यहीँ हुने उल्लेख गरिएको थियो । किनभने त्यो एसियाको चर्चित अस्पतालमध्येको एक हो । तर यादवले अमेरिका जाने आफ्नो इच्छा पूरा गराउन युरोलोजी डिपार्टमेन्टका चिफ प्रोफेसर डा.एके मण्डललाई कन्भिन्स गर्नुभएको बुझिएको छ । मण्डल यादवका पुराना मित्र हुनुहुन्छ । मण्डलले अगस्ट ८ तारिखका दिन लेखेर दिएको रिपोर्टमा ‘डा. यादव उपचारका लागि न्युयोर्क जान चाहेको’ उल्लेख गर्नुभएको छ । जबकि विरामीले जान चाहेको कुरा रिपोर्टमा लेखिँदैन, जे उपयुक्त हुन्छ, त्यो सल्लाह अस्पतालले दिन्छ । भदौ ८ गते यादवको सचिवालयले सरकारलाई बुझाएको पत्रमा अस्पतालले न्युयोर्क जान रिफर गरेको झुठो विवरण उल्लेख छ, जुन कुरा सत्य होइन । तर त्यही रिपोर्टका आधारमा यादवले सरकारसँग रकम मागिरहनु भएको छ ।
पोस्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च अस्पताल विश्वको टप र एसियाको चर्चित हो । त्यहाँ उहाँको अपरेसन सजिलै हुनसक्थ्यो । अस्पतालले उहाँलाई निःशुल्क उपचार गरिदिने बचन दिएको थियो । उहाँ स्वयं पनि त्यहीँ पढ्नुभएको हो । उहाँसँगै पढेका साथी हुुनुहुन्छ मण्डल, जसले यादवको रुचिका आधारमा रिपोर्ट बनाइदिनुभएको छ । त्यो रिपोर्ट छोरा चन्द्रमोहनले सरकारी निकायलाई बुझाउनु भएको छ ।
पूर्व राष्ट्रपति डा.यादव छोरा चन्द्रमोहन, छोरी अनिता, सेनाका एकजना क्याप्टेन र कामदार एकजनासहित चण्डीगढ गएर सरकारी गेस्ट हाउसमा बस्नुभएको थियो । उहाँलाई बस्ने, खाने व्यवस्था विदेश मन्त्रालयले मिलाइदिएको थियो । उहाँका लागि भारत सरकारले तीनवटा गाडी उपलब्ध गराएको थियो भने गेस्ट हाउसमा पाँचवटा भीआईपी कोठा दिइएको थियो । उहाँले गेस्ट हाउसमा बसेको, खाएको र गाडीसहित सबै बिल भारतको विदेश मन्त्रालयलाई अस्पताले पठाएको छ । नेपाललाई भारतले दिने सहायता रकमबाट यादवले बसे खाएको रकम काटिने बुझिएको छ ।
युरोलोजी डिपार्टमेन्ट हेडले पठाएको चिठी नेपाल सरकारसमक्ष आइसकेको छ । त्यो चिठी पढेर नेपाली अधिकारीहरू हाँस्न थालेका छन् । यति मात्र होइन, यादव उपचारका लागि चण्डीगढ रहेका बेला नेपाली दूतावास नयाँ दिल्लीबाट खटाइएका एकजना अधिकृतलाई पूर्वराष्ट्रपति डा. यादवले हरिद्वार जाने इच्छा देखाउनुभयो । उहाँले दूतावासलाई खबर गर्नुभयो, दूतावासलाई भारतीय विदेश मन्त्रालयका अधिकारीले पनि सोधे । दूतावासका कर्मचारीले जवाफ पठाए, ‘तिमीहरूलाई जे मन लाग्छ, गर, हामीलाई नमुछ ।’ अन्ततः विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने नवनियुक्त सहसचिव सुधाकर दलेलाले खबर पठाउनुभयो, ‘अहिले हामी व्यस्त छौँ । महामहिमको हरिद्वार भ्रमण अहिले नगरौँ ।’ त्यसपछि मात्रै उहाँको हरिद्वार जाने कार्यक्रम रद्द भएको थियो ।
यादव उपचारकै नाममा ठूलै हुल लिएर यस अघि जापान जानुभएको थियो आफ्नो कार्यकालमा । त्यहाँ नेपाल सरकारले करिब ८५ लाखको बिल तिरेको थियो, तर उहाँको गम्भीर स्वास्थ्य परीक्षण गरिएन । पूर्वराष्ट्रप्रमुखले भारतमा गएर नेपालीहरूको स्वाभिमान गिर्ने गरी देखाएको व्यवहारले सरकारी अधिकारीहरू वाक्कदिक्क भएका छन् । उपचारका लागि जाने अनि हरिद्वार घुम्न जाने इच्छा देखाउने उहाँलाई भारतीय अधिकारीहरूले नै अहिले भ्रमण सम्भव नहुने बताएका थिए । यादवले भारतीय र नेपाली अधिकारीसँग आफैं कुराकानी गर्नुभएको थियो । बिलका आधारमा पैसा तिर्ने पूर्वपरम्परालाई तोडेर सरकारले दस लाख रुपैयाँ त्यसै दिने निर्णय गरेको थियो । त्यो रकम नलिई यादवले अब एकैचोटि एक करोड रुपैयाँ लिने महŒवाकांक्षा पाल्नुभएको छ ।
– तरुणबाट