१५ चैत्र २०८०, बिहीबार
Follow Us

आरोप–प्रत्यारोपमा सकिनेभो कांग्रेस बैठक

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०७५, सोमबार १५:२५

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक समापनतिर पुगेको छ । गत चैत ९ गते सुरु भएको भएपनि बैठक भने सोमबारसम्ममा जम्मा ८ पटक बसेको छ । सोमबारको बैठकमा आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरुले समीक्षा बैठकको छलफल छोट्याएर साझा धारणासहित एकताबद्ध सन्देश दिनुपर्ने आवाज उठाएपछि बैठक समापन गर्ने तयारी गरिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार बेलुकीसम्म चुनावी समीक्षा बैठक ठोस निष्कर्षका साथ टुंगिने सम्भावना रहेको बताए । सोमबारको बैठकमा पनि केन्द्रीय सदस्यहरुले निर्वाचनका सन्दर्भमा अहिलेसम्म उठ्दै आएका धारणाजस्तै आफ्ना राय राखेका छन् । बैठकमा सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आरोप–प्रत्यारोप जारी नै रह्यो । सोमबार मध्याह्नसम्म ५६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।

सोमबार आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, केन्द्रीय सदस्य अम्बिका बस्नेत, रत्ना शेरचन, ध्यानगोविन्द रन्जित, किरण यादव, मानबहादुर विश्वकर्मा र अजयकुमार चौरसियाले आफ्नो धारणा राखेका थिए । कांग्रेस केन्द्रीय समितिमा हाल ८० सदस्य रहेका छन् ।

विधानअनुसार ८५ सदस्यीय हुने कार्यसमितिमा सभापतिले चारजना आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ भने एकजना निर्वाचित केन्द्रीय सदस्यको निधन भएकाले रिक्त छ ।