१३ बैशाख २०८१, बिहीबार
Follow Us

३३ किलो सुन प्रकरण : पूर्वआईजीपी अर्याललगायत दर्जनमाथि अनुसन्धान

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०७५, सोमबार १५:३९

काठमाडौं । गत माघको पहिलो साता दुबई हुँदै काठमाडौं आएको ३३ किलो सुन गायब भएसँगै तीनजनाको ज्यान गएको छ भने सो काण्डमा निवर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालदेखि केही नेता व्यापारीहरूसमेत तानिने सम्भावना बढ्दै गएको छ ।

सुनकाण्डको विस्तृत अनुसन्धानका लागि सरकारले गठन गरेको अनुसन्धान समितिले पूर्वडीआईजी गोविन्द निरौला पक्राउ परिसकेका छन् भने पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डीएसपी सञ्जय राउतलाई उपस्थित गराउन समितिले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकेको छ । त्यसैगरी, सुन व्यापारी पवन अग्रवाल, राजेन्द्र शाक्य, बाजेको सेकुवा सञ्चालक चेतन भण्डारी पनि मुछिएका छन् । वर्तमान सत्ताधारी नेताका आफन्तहरू पनि तानिएको स्रोतले जनाएको छ । विगतमा सुन कारोबारमा संलग्न शाक्य यस प्रकरणमा भने संलग्न थिएनन् कि भन्ने प्रहरी अनुसन्धानमा देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर गत २१ पुस र ९ माघमा दुबैपटक भित्रिएको साढे ३३ किलो सुन तथा घटनामा जोडिएका तीनजनाको मृत्यु प्रकरणपछि प्रहरी, व्यापारी, राजनीतिज्ञहरू मुछिएका छन् । यीमध्ये पक्राउ परेका डीआईजी निरौलाले २९ चैतमै अवकाश पाइसकेका थिए भने एसएसपी खत्री प्रहरी प्रधान कार्यालय र खनाल मकवानपुर प्रहरी प्रमुखका रूपमा कार्यरत छन् ।

प्रहरी रेकर्डमा २०७२–७३ मा विमानस्थल प्रमुख रहेका डीआईजी निरौला निरन्तर सुन तस्कर गिरोहसँग सम्पर्कमा रहेको बताइएको छ । उनकै कार्यकालमा गत वर्ष २१ पुसमा साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो । सो समय विमानस्थलमा रहेका एसएसपी श्यामबहादुर खत्रीलाई कारबाही भए पनि उनी अदालतबाट सफाइ पाई मुख्यालयमा कार्यरत छन् । त्यही समयमा विमानस्थलमा रहेका एसपी खनाल र डीएसपी राउतसमेत अनुसन्धानमा तानिएका छन् । समितिले अनुसन्धानका लागि बोलाएका अधिकारीहरूको सुन तस्करीका नाइके गोरे भनिने चुडामणि उप्रेतीलगायतका तस्कर समूहसँग सम्पर्क देखिएको स्रोतले जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका प्रहरी, भन्सार अधिकारी, विमान कम्पनीमा कार्यरत उच्च तहका अधिकारी र व्यवसायीको सूची बनाएरै गरेर पक्राउ गर्न थालेको हो ।

फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई ह्यान्डओभर गर्ने जिम्मा लिने व्यक्ति एलबी मगर भए पनि उनको संलग्नताबारे कहीँकतै उल्लेख गरिएको पाइँदैन । २०७४ माघ ९ गते विमानस्थलमा सुन आइपुग्यो, तर एलबी आएनन् । यसपछि सुन तस्करका नाइके चुडामणि उप्रेतीले सो सुन पुरानो बानेश्वरसम्म लगेर छाड्ने जिम्मा सानु बनलाई दिए । सानु तिनै हुन्, जसले गएको माघ २२ गते विमानस्थलमा गुड्दै गरेको ट्यांकरको चक्कामा ठोक्किएर आत्महत्या गरेका थिए । स्रोतका अनुसार ५५ वर्षीय सानु बन थाई एयरवेजका इन्जिनियर हुन् । सानु बन स्कुटरको पछाडि थिए, स्कुटर चलाउने व्यक्ति अर्कै थिए । सुन बोकेको स्कुटर काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलमा पुगेको मात्र के थियो, त्यहीँबाट बनले उप्रेतीलाई फोन गरेर सुन लुटिएको जानकारी गराएका थिए ।