१३ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डन म्याराथुनमा सहभागी भएर चार लाख रुपैयाँ संकलन

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७५, सोमबार १६:४४

हाल युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनीले यस वर्षको लण्डन म्याराथुनमा सहभागी भएर झन्डै सत्ताइस सय पाउण्ड सहयोग संकलन गरेका छन्।

म्याराथुन सम्पन्न भएको दिन २२ अप्रिलसम्म सहयोगीबाट कुल २ हजार ४ सय ४८ पाउण्ड र गिफ्ट एड सहित २७ सय ६७ पाउण्ड (करिब चार लाख रुपैयाँ) सहयोग जम्मा गरेका छन् ।

युनिभर्सिटी कलेज लण्डन नेपाली विद्यार्थी समाजको अध्यक्षसमेत रहेका उनले उक्त म्याराथुन चार घण्टा उन्नान्साठी मिनेटमा पुरा गरे।

उनले लण्डन म्याराथुनमा भाग लिएर नेपालमा अपाङ्ग, निमुखा र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैर सरकारी संस्था किड्स फर्स्ट नेपालको लागि उक्त सहयोग रकम जुटाएका हुन्।

उक्त संस्थाले अपाङ्ग र असहाय बालबालिकाहरूको लागि शिक्षा, स्वास्थ्य र जीवन आर्जन गर्नको लागि आवश्यक सहयोग गर्दै आएको छ। उक्त दौडमा भाग लिएर उठेको सबै रकम उक्त संस्थालाई सिधै सहयोग जानेछ।

उनले उक्त म्याराथुनमा भाग लिएर च्यारिटीबाट तीन हजार पाउण्ड सहयोग उठाउने लक्ष्य राखेका थिए। उनको यो अभियानमा सहयोग गर्न चाहनेले अझै पनि तलको लिंकमा क्लिक गरेर २९ अप्रिलसम्म सहयोग गर्न सक्नेछन् ।