१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मयूरमा लगानी गर्न एनआरएनको चासो

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७५, मंगलवार ०४:४७

काठमाडौं । ठूला बस ल्याएर सेवा थालेको मयूर यातायात प्रालि कम्पनीमा लगानी गर्न देश–विदेशबाट प्रस्ताव आउन थालेको छ । पुराना यातायात व्यवसायीले पनि यातायात समिति छोड्न तयार भएको भन्दै मयूरमा आबद्ध हुन इच्छा व्यक्त गरेका छन् ।

अरनिको राजमार्गको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेको मयूर यातायातमा लगानी गर्न अन्य क्षेत्रका व्यवसायीसहित गैरआवासीय नेपाली संघ (एनआरएन) ले पनि प्रस्ताव राखेका छन् । विदेशमा बस्ने नेपालीले पनि मयुर यातायात लगानीका लागि उपयुक्त ठानेका छन् ।

कम्पनीले भने कसरी अघि बढ्ने भनेर ठोस निर्णय गरेको छैन । समितिहरु कम्पनीविरुद्ध आन्दोलनमै रहेकाले परिस्थिति हेरेर लगानीका प्रस्तावमाथि छलफल गर्ने तयारीमा छ । कम्पनीमा लगानीका लागि दैनिक ठूलो संख्यामा लगानीकर्ताले आफूहरुसँग परामर्श गरिरहेको मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो । सडकको सिन्डिकेट समाप्त गर्ने गरी सरकारले कदम चालेपछि विभिन्न क्षेत्रका यातायात समितिहरुले पनि मयूरसँग कम्पनी दर्ताका लागि परामर्श गरेका हुन् ।

अध्यक्ष श्रेष्ठ देश–विदेशबाट कम्पनीका लगानी गर्न इच्छुकहरुले दैनिक सम्पर्क गरिरहेको बताउनुहुन्छ । उहाँले लगानी जुटाएर मयूरलाई दक्षिण एसिया कै उत्कृष्ट सार्वजनिक सवारी सेवा प्रदायक कम्पनी बनाउने दावी गर्नुभयो । उहाँले अव देश सडक मयुरमय हुने बताउनुभयो ।