१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राप्रपा फुट्नु जुट्नु सामान्य हो

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७५, मंगलवार १३:५९

दुधकाशी तामाङ, सचिव, राप्रपा लमजुङ
तीन चिरामा विभक्त राप्रपा यतिबेला जुट्ने प्रयास भइरहेको छ । तर पार्टी फुटले जिल्ला तहमा कुनै प्रभाव नपरेको लमजुङ जिल्ला सचिव दुधकाशी तामाङ बताउँछिन् । समाज रूपान्तरणका लागि राजनीतिमा लागेकी तामाङ भन्छिन्, ‘कहिले ठूलो हुनु, कहिले सानो हुनु राजनीतिक दलको विशेषता हो, अहिले पार्टी फुट्यो भनेर आत्तिहाल्नुपर्दैन ।’ राजनीति र समाजसेवामा लागेकी दुधकाशीसँग तरुणले गरेको कुराकानी ः

० अहिले के जिम्मेवारी सम्हाल्नुभएको छ ?
– मुख्यतः राप्रपा लम्जुङको सचिव हुँ, त्यसबाहेक अन्तरपार्टी महिला सञ्जालको अध्यक्ष हुँ । त्यसभन्दा अघि सचिव थिएँ, आदिवासी जनजाति महासंघको मस्र्याङ्दी गाउँपालिका सचिव हुँ, अलैची उत्पादक संघ लम्जुङको सचिव हुँ ।

० लमजुङमा अलैंची लगाउन थालेको कति भयो ?
– व्यावसायिक रूपमा उत्पादन सुरु गरेको त्यति धेरै भएको छैन, राम्रो मूल्य आउने यो नगदेबाली हो भनेर लमजुङमा भर्खर परिचित हुँदैछ । यसको जात, लगाउने तरिका, बजारीकरणलगायतको जागरण हामी दिँदैछौं ।

० लमजुङमा अलैंचीका लागि सुहाउँदो हावापानी छ र ?
– अलैंची विज्ञहरूका अनुसार बेसीसहर र सुन्दरबजार नगरपालिकाको केही वडाबाहेक लमजुङको सम्पूर्ण भूभागमा अलैंची लगाउन सकिन्छ । अलैंचीका नौ जातमध्ये कुन उपयुक्त हुन्छ भन्ने कुरा प्रमाणित भइसकेको छ । कृषकहरू अहिले अलैंची लगाउन उत्साहित छन् ।

० अलैंचीका लागि के गर्नुभएको छ ?
– यसलाई लगाउने तरिका, गुणस्तरीय उत्पादन गर्ने र सुपथ मूल्यमा बिक्री वितरणका लागि हामीले काम गरिरहेका छौं । कृषकमा जागरण ल्याउनका साथै दक्ष जनशक्ति उत्पादनमा लागिरहेका छौं । कृषकलाई भिडियोमार्फत बिरुवा रोप्न सिकाउँछौं ।

० तपाईंहरूले जागरण अभियान सुरु गर्नुभन्दा अघि कस्तो थियो ?
– गुणस्तरीय उत्पादन हुँदैन थियो, कतिले घाममा सुकाएर बेच्थे, कतिपयले भुटेर बेचेको समेत पाइयो । अलैंचीलाई भट्टी लगाउन नजान्दा गुणस्तरमा कमी आयो । बिक्री वितरणमा समेत जथाभावी थियो । दलालहरू घरघर पुगेर बैना दिने गर्थे, अहिले त्यस्तो छैन । हामीले इलामबाट विज्ञ ल्याएर कृषक जागरण अभियान सञ्चालन गरेका हौं ।

० कति उत्पादन भयो ?
– कुनै बेला २२ सय क्विन्टलसम्म उत्पादन भएको अलैंची, गत वर्ष दुई सय क्विन्टलमा झरेछ । बेर्ना सुक्ने रोग लागेको हो कि भनेर हामीले विज्ञलाई देखायौं । बुढो रुखको जंगल र बढी ओसिलो भएकाले उत्पादन घटेको निष्कर्ष निकालियो ।

० अलैंची फैलिने क्रम जारी छ ?
– जारी छ, यो वर्ष मात्रै पाँचदेखि १० हजार बिरुवा थप्दैछौं । महासंघले बजार व्यवस्थापन गर्न थालेपछि कृषक उत्साहित छन् ।

० तपाईले राजनीति गर्ने पार्टी फुटेर ध्वस्त भयो होइन ?
– राजनीतिक दल फुट्ने जुट्ने क्रम चलिरहन्छ, त्यसले जिल्ला राजनीतिलाई खासै प्रभाव पार्दैन । पार्टी बन्ने क्रममा छ, यसलाई कहिले टुटफुट नहुने बनाउनुपर्छ ।

० राजनीति गर्न राप्रपा नै किन ?
– राजनीति दल भनेको विचार र सिद्धान्तबाट चल्ने हो । मेरो पार्टीको विचार र सिद्धान्तसँग म सहमत छु । अहिले मैले पार्टीमा जुन स्थान बनाएकी छु, त्यो अन्य पार्टीमा गएँ भने पाउन सम्भव छैन । कांगे्रस वा कम्युनिस्ट पार्टीमा मैले प्राप्त गरेको पद पाउन ४५–५० वर्षको उमेर पार गर्नुपर्छ ।

० छिटो पद हासिल गर्न राप्रपामा लाग्नुभएको हो ?
– होइन, राजनीति भनेको समाज परिवर्तनका लागि हो । यो समाजलाई मैले दिने योगदान जुन राजनीतिक दलमा बसेर पनि दिन सक्छु । २५–२६ वर्षकी भएँ, अन्तरपार्टी सञ्जालमा मेरो कुरा बिक्छ ।

० के योगदान दिनुभएको छ ?
– मैले गरेको कामको बेलिविस्तार म आफैंले लगाउनु उचित होला जस्तो लाग्दैन । अरुले मूल्यांकन गर्दा राम्रो होला ।

० कुनै एउटा भन्न मिल्दैन ?
– मस्र्याङ्दी गाउँपालिकाको उत्तरी क्षेत्रमा बाहुन गाउँ छ । त्यहाँ तातोपानी कुण्ड छ । उक्त कुण्डमा डुब्दा महिलाहरूको स्त्रीरोग जाति हुन्छ । त्यो कुण्डमा जान हामीले विद्युत, बाटो निर्माण र बसोबास गर्नेका लागि सहज बनाएका छौं । म धार्मिक प्रकृतिको मान्छे भएकाले पनि त्यो काम गर्नलाई धेरै उत्सुक थिएँ ।

० महिलाकै लागि गर्नु हुँदो रहेछ ?
– हो, समाज रूपान्तरण गर्ने हो भने महिलालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । हामीले महिला सञ्जाल गठन गरेका छौं, नेतृत्व विकासको तालिम दिएका छौं, आरक्षण कार्यान्वयनमा जोड दिन्छौं । कानुनी सचेतना तालिम दिन्छौं ।

० पार्टी नै फुटेर सानो भइसक्यो ?
– सानो ठूलो हुने त राजनीतिक दलको विशेषता हो । राजनीतिक दलको एजेन्डालाई जनताले समर्थन गर्ने हो ।

० संसद्मा एउटा मात्र बीउ छ ?
– बीउ एउटै मात्र हुन्छ, फैलिन, झाँगिन समय लाग्छ, राजनीति गर्नेले त्यो धैर्यता गुमाउनु हुँदैन ।

० जिल्लामा संगठन कस्तो छ ?
– लमजुङ जिल्ला मात्र होइन, गण्डकी अञ्चल नै राम्रो हुँदै आएको छ । अरुतिर फुटेर गए पनि हामी चाहिँ जुटाउने काममा लागेका छौं । मस्र्याङ्दी गाउँपालिकामा उपमेयरमा उठेकी थिएँ, नौ सय मत बदर हुँदा तीन सय मतले पराजित भएँ ।

० राजनीतिमा लाग्ने पे्ररणा कसले दियो ?
– स्कुल पढ्दादेखि नै बोल्नुपर्ने, छलफलमा सहभागी हुनुपर्ने स्वभावकी थिएँ । मलाई बोल्न दिइएन भने रुन मन लाग्थ्यो । आफूले बोलेको कुरा अरुले सुनिदियो भने सन्तुष्ट हुन्थें ।

० परिवारमा अरु राजनीतिमा थिए ?
– थिएनन्, म एक्लो हुँ, दाजुभाइ आ–आफ्नो पेसा व्यवसायमा हुनुहुन्छ । दिदी र बहिनीहरू घरव्यवहार र पेसामा छन् ।

० कहाँ कति पढ्नुभयो ?
– कक्षा ५ सम्म गाउँकै स्कुलमा पढें, त्यसपछि खुँदीबाट एसएलसी दिएँ, त्यसपछि स्नातकसम्मको अध्ययन काठमाडौंबाट पूरा गरेकी हुँ ।

० विवाह ?
– चेतन लामासँग विवाह गरेकी हुँ, उहाँसँग पहिला चिनजान थियो, पछि मागी विवाह भयो । उहाँ व्यवसायी हुनुहुन्छ । हाम्रो एउटा छोरा छ ।