८ बैशाख २०८१, शनिबार
Follow Us

भूपू नेपालीहरुलाई नेपालको पैतृक सम्पत्ति बेचेर विदेश लैजान दिन्न : मन्त्री पण्डित

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७५, मंगलवार १४:४३

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका नेपालीहरुलाई भुतपूर्व नेपालीको संज्ञा दिएका थिए । गैरआवासीय नेपालीहरुलाई लक्षित गर्दै मन्त्री पण्डितले भने, ‘त्यस्ता नागरिकलाई नेपालको पैतृक सम्पति बेचेर विदेशमा लैजान नदिने तयारी हुँदैछ ।’
उनले भने, ‘पूर्व नेपाली आजको दिनमा विदेशी नागरिक बनिसक्नु भएका त्यस्ता व्यक्तिहरुले नेपालको पैतृक सम्पति लिन पाउनु हुन्न ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले १२ औं लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डिततले यस्तो बताएका हुन ।

उनले भने, ‘०४६ सालको आन्दोलन र दोस्रो जनआन्दोलनमा म स्वयम सहभागी भएर लडेको मानिस हुँ, मेरो मनमा लोकतन्त्र र गणतन्त्रप्रति ठूलो भरोसा छ, लोकतन्त्रको लागि धेरैले बलिदान र योगदान दिनुभएको छ, तमाम व्यक्तिहरु घाईते बन्नुभएको छ, सरकारले आन्दोलनका घाईते, सहिद परिवार र पीडित व्यक्तिको हकहितको लागि दिँदै आएको सेवा सुविधा फेरवदल गर्नको लागि मन्त्रीपरिषदको बैठकमा म आफ्ना कुरा राख्छु ।’

कार्यक्रममा मन्त्री पण्डितले अधिकार संस्थागत भईसकेको र आगामी यात्रा समृद्धि भएको भन्दै सबैलाई एक भएर विकासमा लाग्नको लागि आग्रह गरेका छ्न् । उनले भने,‘गण्तन्त्र स्थापना भएको छ, राजतन्त्रको अस्तु पनि बाँकी छैन्, लोकतन्त्र समृद्धिमा प्रवेश गरेको छ, विगतका दिनमा राजनीतिक अस्थिरताको कारण जनताले दुःख पाए, अबका दिनमा आत्मनिर्भर बन्न र राष्ट्रका लागि काम गर्ने जो कोहीले अभावमा बाँच्नु पर्दैन, आगामी बजेट निर्माणमा सहिद परिवार, घाईते, बेपत्ता परिवारको लागि उचित किसिमको सेवाको लागि सुझाव दिनेछु ।’

मन्त्री बनेदेखि नै आक्रमक रुपमा काम गर्दै आएका मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई राष्ट्रसेवकको रुपमा नहेरिने चेतावनी समेत आज दोहोर्याए। उनले भने,‘मन र व्यबहार अलि फरक कुरा हुन, मन छिटो दर्गुछ, व्यबहार विस्तारै देखिन्छ, हामीले धेरै कामका बारेमा आफूलाई क्रियाशिल बनाएका छौँ।’

कर्मचारीको हकमा स्वेछिच्क अवकास लिने व्यवस्था आफूहरुले हटाएको उनको दाबी थियो । उनले भने,‘नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न, सरकारले खटाएको ठाउँमा काम गर्न जानुपर्छ, अहिलेको अवस्थामा सरकारले कर्मचारीलाई पैसा साथमा राखेर घर पठाउन सक्ने स्थिति नै छैन्, राष्ट्रसेवकले राष्ट्रको काम गर्नुपर्छ, समृद्धिको अभियानमा साथ दिनुपर्छ।’

मन्त्री पण्डितले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय कर्मचारीले स्वेच्छिक अवकाश लिएको र उनीहरुको पेन्सन पट्टा दिलाउने काम भैरहेको छ । उनले भने, ‘अब बाँकीको जतिपनि निवेदन आएका छन्, तीनीहरुको स्वेच्छिक अवकाश स्विकृत हुँदैन, नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न ।’