१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अमेरिकी सरकारले ९ हजार नेपालीलाई देश निकाला गर्ने

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०७५, बुधबार ०४:३०

काठमाडौं । अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको छ ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । वासिङट्न पोष्टले विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेज फेला पारेको छ जसमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने उल्लेख छ ।

महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो । सो स्किमअन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्यांक छ ।