१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अमेरिकामा नेपालीले पाएको टिपिएस सुविधा खारेज

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७५, बिहीबार २०:३१

एजेन्सी । अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीहरुलाई दिदैं आएको अस्थायी सुरक्षा सुविधा (टेम्पोररी प्रोटेक्टेड स्टाटस) खारेज गरेको छ । आन्तरिक सुरक्षा मामिला सम्बन्धी मंत्री क्रिस्टजेन नेल्शनले आज नेपालीहरुलाई दिदैं आएको यो सुविधा खारेज गर्ने निर्णय गरेको सोही विभागका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ । करीब नौ हजार नेपालीहरुले यो सुविधा प्राप्त गर्दै आएका थिए ।

नेपालमा गएको महाविनाशकारी भूकम्पपछि अमेरिकी सरकारले यो सुविधा उपलब्ध गराएको थियो । जस अनुसार अमेरिकामा वैधानिक ढंगले काम गर्न पाउने अनुमति र नेपालमा परिवार भेटघाट गरेर अमेरिका फर्कन पाउने सुविधा उपलब्ध थियो । यो सुविधा लिएका सबै नेपालीहरुले अब अर्को वर्ष सन् २०१९ को जुन २४ तारिखसम्म आ आफ्नो स्टाटस परिवर्तन गरिसक्नुपर्ने, काम गर्ने अनुमति (वर्क परमिट) नवीकरण गर्नुपर्ने र स्टाटस परिवर्तन गर्न नसक्नेहरुले अर्को वर्षको जुन २४ तारिखपछि अमेरिका छाड्नु पर्नेछ ।

नेपालीहरुलाई सन् २०१५ देखि दिदैं आएको यो अस्थायी सुविधा नवीकरणका लागि यसपटक अमेरिकी संसदको दुवै सदनका सदस्य(कांग्रेसम्यान र सिनेटर) हरुले संयुक्त पहल पनि गरेका थिए भने राज्य सरकारका तर्फबाट पनि कतिपय निर्वाचित प्रतिनिधिहरुले अमेरिकी राष्ट्रपति र आन्तरिक मामिला सम्बन्धी मंत्रीलाई पत्राचार गरेका थिए ।

तर आज यो अस्थायी सुविधा खारेजको घोषणामा भनिएको छ,-‘भूकम्पपछि नेपालको परिस्थितिमा उल्लेख्य सुधार भएको छ,हाम्रो आन्तरिक कागजपत्र र हामीले सन् २०१६ को अक्टुबरमा गरेको नेपाल सम्बन्धी पछिल्लो अध्ययन प्रतिवेदनमा पनि नेपालले भूकम्पपछिको पुन:निर्माण र पुन:संरचनाको कार्यमा उल्लेख्य प्रगति गरेको छ । तसर्थ अब नेपाल आफैं आफ्ना नागरिकहरुको व्यवस्थापन गर्न सक्छ भन्ने ठहरसहित यो अस्थायी सुविधा खारेज गर्ने निर्णय गरिएको छ ।’ साथै विज्ञप्तिमा अगाडी भनिएको छ,-‘ हामी एक वर्ष समय अवधि दिएर यो सुविधा खारेज गर्ने निर्णयमा पुगेका छौं,यो अवधिमा टिपीएस सुविधा लिएका व्यक्तिहरुले हाम्रो अध्यागमन सम्बन्धी अन्य सुविधा लिन सक्नेछन् भने नेपालले पनि यो एक वर्षको अवधिमा आफ्ना नागरिकहरुलाई स्वदेश फर्कन समय व्यवस्थापन गर्न सक्छ। एक वर्षको यो अवधिमा हामी हाम्रो विदेश मन्त्रालय र नेपाल सरकारसंग मिलेर थप कार्य गर्नेछौं।’

OLYMPUS DIGITAL CAMERA