६ चैत्र २०८०, मंगलवार
Follow Us

देशभरका ८१ केन्द्रमा कक्षा १२ को परीक्षा आजदेखि सुरु

sarusaru
१४ बैशाख २०७५, शुक्रबार ०३:४२

काठमाडौँ — माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै छ । परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।

परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी हुँदै छन् । तीमध्ये २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ सय ७५ छात्रा रहेको बोर्डले जनाएको छ । ‘प्रश्नपत्र परीक्षा केन्द्रमा पुगिसकेको छ,’ अर्यालले भने, ‘केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक नियुक्ति गरेर सुरक्षा प्रबन्धसमेत मिलाइसकिएको छ ।’ ३९ हजार जनशक्ति परीक्षामा खटाइएको छ ।

वैशाख २७ गते कक्षा १२ को परीक्षा सकिएपछि तिनै केन्द्रमा ३० गतेबाट कक्षा ११ को परीक्षा सञ्चालन गरिने अर्यालले जानकारी दिए । जेठ ९ गते सकिने परीक्षामा पाँच लाख ५० हजार नौ सय ५८ विद्यार्थी सहभागी हुनेछन् जसमा दुई लाख ६३ हजार एक सय ६८ छात्र र दुई लाख ८७ हजार सात सय ९१ छात्रा छन् । परीक्षामा ४६ हजार सात सय ६६ जनशक्ति खटाइनेछ । कक्षा ११ र १२ का कुल ९ लाख ६६ हजार २ सय १० विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

‘परीक्षामा कुनै समस्या आए तत्काल समाधान गर्न केन्द्राध्यक्षको गुप्र म्यासेज आदानप्रदान हुने सिस्टम तयार पारिएको छ,’ उनले भने, ‘प्रश्नपत्रमा हुन सक्ने त्रुटिलगायत आपतकालीन समस्या केन्द्राध्यक्षले परीक्षा बोर्डमा सम्पर्क गरेर तुरुन्तै समाधान गर्न सक्नेछन् ।’

यसपालिदेखि विद्यार्थीको नाम थर, जन्ममिति, विषय र कोड नम्बर फरक परे बोर्डको वेबसाइटमा कक्षा र रजिस्ट्ेरसन नम्बर इन्ट्री गरेर परीक्षाअघि नै रुजु गर्न सक्ने प्रबन्ध मिलाइएको छ । उनले भने, ‘विद्यार्थीले आफ्नो विवरण पहिल्यै हेरेर विद्यालयमार्फत बोर्डमा सम्पर्क गर्न सक्छन्, परीक्षाअघि नै विद्यार्थीको विवरण सच्याउने मौका पाएपछि परीक्षाफल प्रकाशित गर्ने बेला समस्या हुँदैन ।’ कक्षा १२ मा दुई लाख ९८ हजार नौ सय ८७ नियमित र एक लाख १६ हजार दुई सय ६६ आंशिक विद्यार्थीले परीक्षा दिँदै छन् । त्यस्तै कक्षा ११ मा तीन लाख ३२ हजार आठ सय ८६ नियमति र दुुई लाख १८ हजार ७१ जना आंशिक विद्यार्थी सम्मिलित हुनेछन् ।

दुवै परीक्षामा सबैभन्दा थोरै मनाङ जिल्लाबाट ८८/८८ जना विद्यार्थी सहभागी हुनेछन् । मनाङ र मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्रमा मात्रै परीक्षा हुने बोर्डले जनाएको छ । सबैभन्दा बढी काठमाडौंबाट एक लाख ३६ हजार ५३ विद्यार्थीले परीक्षा दिनेछन् । काठमाडौंमा एक सय १४ वटा परीक्षा केन्द्रमा परीक्षा हुँदै छ ।
कान्तिपुर दैनिक