६ चैत्र २०८०, मंगलवार
Follow Us

तीन प्रहरी अधिकृत निलम्बनमा, डिएसपी राउत सम्पर्कमा

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७५, शुक्रबार ०४:५९

काठमाडौं । ३३ केजी सुन काण्डमा मुछिएका तीन प्रहरी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो । प्रवक्ता मनोज न्यौपानेले उनीहरु निलम्बित भएको पुष्टि गरे । तीनै जनालाई कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

अनुसन्धानको क्रममा बयान दिँदादिँदै सम्पर्कबिहीन भएका इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत डिएसपी सञ्जय राउत बिहीबार बिहानमात्र सम्पर्कमा आएका थिए । राउत बिहीबार बिहान महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आएका हुन् । डिएसपी राउतलाई बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ । मंगलबार साँझ मकवानपुर जिल्लाका प्रहरी प्रमुखका रुपमा कार्यरत एसपी खनाललाई नियन्त्रणमा लिइएको थियो ।

सई सञ्जेल भने महानगरीय अपराध अनुसन्धान महाशाखाका हुन् जसले ३३ केजी सुन प्रकरणको पहिले अनुसन्धान गरिरहेका थिए । माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ ।  प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ ।