६ चैत्र २०८०, मंगलवार
Follow Us

संसद् अधिवेशन वैशाख २३ मा आह्वानका लागि सिफारिस

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७५, शुक्रबार ०८:१३

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । राष्ट्रपतिले आह्वान गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन शुरु हुनेछ ।

बैठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमणका क्रममा उद्घाटन गरिएको वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीलाई भन्सार क्षेत्र तोक्न नेपाल राजपत्रमा सूचना प्रकाशनको निर्णय गरेको छ । सो भन्सार भारत सरकारको सहयोगमा निर्माण भई हस्तान्तरण भएको हो ।

यस्तै आन्तरिक शान्ति र सुव्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने, वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त सदस्यमा न्याय सेवाका सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।