६ चैत्र २०८०, मंगलवार
Follow Us

दुई कोरियाको शिखर बैठक : फेरीपनि पटक पटक भेट्ने प्रतिबद्धता

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७५, शुक्रबार ०८:२०

गोयाङ । दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका उच्च अधिकारीहरुले दिएको जानकारीअनुसार दुवै नेताहरुले कोठाभित्र नजिकबाट औपचारिक वार्ता गर्नु भएको छ । उहाँहरुका बीचमा दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रबार बिहानै झण्डै डेढ घण्टा वार्ता भएको थियो । सन् १९५० देखि ५३ सम्म भएको कोरिया युद्धपछि विभाजित भएको दुई कोरियाको सीमा क्षेत्रमा वार्ता भएको हो ।

औपचारिक वार्ता अगाडी किमलाई मुनले सैन्य प्रदर्शनी अगाडी अभिवादनसहित भव्य स्वागत गर्नु भएको थियो । उहाँहरुको ऐतिहासिक शिखर बैठक अन्तर्गत पहिलो चरणको वार्ता सम्पन्न भएपछि खानाको समय छुट्याइएको थियो । खाना खाएपछि फेरि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया जानु भएको हो । स्थानीय समयानुसार शुक्रबार विहान ९ः३० बजेतिर दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली नेता किम पुग्नु भएको थियो । बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उहाँले “शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास शुरू भएको छ” भनेर लेख्नु भएको छ । दुई कोरियाका नेताको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम बीच पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ । अहिलेको शिखर बैठकले नै ट्रम्प र किमको शिखर बैठक के कस्तो हुनेछ भन्ने संकेत गर्नेछ ।

ट्रम्प र किमको शिखर बैठक अगाडी दक्षिण कोरियाका नेता मुनले ट्रम्पलाई भेटेर दुई कोरियाको शिखर बैठकका बारेमा बताउदै ट्रम्प–किम वार्ताकोलागि सहजीकरण गरिदिनुहुनेछ । ट्रम्प र किमको भेटवार्ता हुनु भन्दा अगाडी मे महिनाको मध्य तिर मुनले ट्रम्पलाई भेट्ने तयारी गर्नु भएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसका एक जना उच्च अधिकारीले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार मुनको अमेरिका भ्रमण निश्चित भएपनि मिति भने एकिन भइसकेको छैन । ट्रम्प र किमको भेटवार्ता मे महिनाको अन्त्य तिर वा जुन महिनाको सुरुतिर हुन सक्ने बताइएको छ ।