१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुखवती फाउण्डेशनलाई कोरियाली पुरस्कार

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७५, शुक्रबार १३:४८

काठमाडौं । सुखवती स्टोर फाउण्डेशन काठमाडौँलाई दक्षिण कोरियाको एसिया फिलान्ट्रोफी अवार्ड अन्तर्गत यस “वर्षको उत्कृष्ट गैह्र नाफामूलक सामाजिक संस्था पुरस्कार” प्रदान गरिएको छ ।

विद्यालय निर्माण, वातावरण संरक्षण र पुराना सामान प्रशोधन गरी पुनः प्रयोगमा ल्याएबापत फाउण्डेशनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
सामाजिक काममा क्रियाशील फाउण्डेशनका अध्यक्ष चीजमान गुरुङलाई दक्षिण कोरियाको राजधानी सिओलमा हालै आयोजित कार्यक्रममा सो पुरस्कार दिइएको उक्त संस्थाले जनाएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संस्था एवं व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ ।

फाउण्डेशनले एकको बेकार अर्कोको सरोकार र तपाईंको पुरानो सामान अरु कसैका लागि नयाँ हुनसक्छ भन्ने उद्देश्यले एक पटक प्रयोगमा आएका सामान संकलन गरी त्यसलाई प्रशोधन गरेर सस्तो मूल्यमा फेरि उपयोग गर्ने गरी बेच्ने गर्छ ।

‘खुशी बाँडौं’ भन्ने नाराका साथ सक्रिय उक्त संस्थाले नुवाकोट, काभ्रे लगायतका जिल्लामा विद्यालय भवन निर्माण गर्ने, भूकम्पपीडितलाई अस्थायी टहरा बनाउने र अन्य राहतका कार्यक्रम सञ्चालन गर्दै आएको सचिव कमला गुरुङले जानकारी दिनुभयो ।

संस्थाले प्रयोगपछि बिग्रेका भान्साका सामग्री, कपडा, जुत्ता, गमला, विद्युतीय सामाग्रीलाई पुनःप्रयोग योग्य बनाएर उपयोगमा ल्याउने गर्दै आएको छ ।