१३ बैशाख २०८१, बिहीबार
Follow Us

मिस वर्ल्ड नेपाल प्रतियोगिता आयोजना बारे एनआरएनए महिला फोरममा बवाल

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७५, शुक्रबार २१:४६

लण्डन। नेपाल बाहिरका विभिन्न देशमा रहेका नेपाली र नेपाल भित्रै रहेका नेपालीहरुको सहभागिता हुने गरी आगामी वर्ष अक्टोबर २०१९ मा मिस र मिसेस वर्ल्ड नेपाल आयोजना हुने विषयमा गैरआवासीय नेपाली संघको महिला फोरममा विवाद भएको छ । वेलायतवासी फेसन डिजाइनर मनिषा डंगोल श्रेष्ठले गैरआवासीय नेपाली संघ, महिला च्याप्टरको संयोजनमा प्रतियोगिता आयोजना हुन लागेको घोषणा गरे पछि फोरम भित्र विवाद चर्किएको हो ।

महिला सशक्तिकरणका साथै नेपालको पर्यटन तथा नेपाली सीप र उत्पादन विश्व बजारमा पुर्याउने उद्देश्यले आयोजना हुने दावी गरिएको सो प्रतियोगितामा गैरआवासीय नेपाली संघको संलग्नता बारे महिला फोरमकी उपसंयोजक संगिता मरहट्टाले आपत्ति जनाएकी छन् । उनले डंगोलको सामाजिक संन्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया दिर्दै भनेकी छन् ‘गैरआवासीय नेपाली संघले यस्ता प्रकारको प्रतियोगिताको आयोजना गर्दैन् । संघले औपचारिक रुपमा निर्णय नगरे सम्म संघको नाम र लोगोको दुरुपयोग नगर्नु’ भनेकी छन् ।

मिसेस युकेको आयोजना गर्दा विवादमा आएकी डंगोलले मनिषा आफ्नो हरेक क्षेत्रको सफलताको लागि प्रेरणा—स्रोतका रुपमा बेल्जियमका रवीन्द्रमान श्रेष्ठ र रजनी प्रधान भन्दै व्यक्तिगत सम्वन्धका आधारमा संघको नाम र लोगो प्रयोग गरेकी हुन् । संघको नियमावलीले कुनै पनि व्यवसायीक प्रयोजनको लागि लोगो र नाम प्रयोग गर्न रोक लगाएको छ ।

नेपालमा हुने प्रतियोगितामा सहभागिता जनाउनको लागि प्रत्येक देशमा हुने प्रतियोगितामा सहभागी भई त्यहाँबाट विजेता बन्नुपर्ने डंगोलको दावी थियो। विभिन्न मुलुकबाट छनौटमा परेका उत्कृष्ट सहभागी (विजेता) महिलाले मात्र नेपालमा हुने मिस मिसेस नेपाल वर्ल्ड सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।