८ बैशाख २०८१, शनिबार
Follow Us

लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

नेपालब्रिटेन संवाददाता
१५ बैशाख २०७५, शनिबार ०५:३१

भैरहवा । २५६२औं बुद्धजयन्तीको पूर्वसन्ध्यामा भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा शनिबारदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ । बौद्ध सम्मेलनमा भाग लिन विभिन्न देशका बौद्ध विद्वान लुम्बिनी आइपुगेको लुम्बिनी विकास कोषका सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए ।

सम्मेलनमा १६ जना राष्ट्रिय र १६ अन्तर्राष्ट्रिय गरी ३२ जनाले १३ ओटा विभिन्न उपशीर्षकमा बौद्धसँग सम्बन्धित कार्यपत्र प्रस्तुत् गर्ने तयारी छ । सम्मेलनपछि प्रस्तुत् कार्यपत्रहरुको निष्कर्षका आधारमा आइतबार लुम्बिनी सम्मेलन घोषणापत्र जारी गरिने जनाइएको छ ।

बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लाका पुरातात्विक तथा धार्मिकस्थल र बुद्धको शिक्षालाई प्रचार–प्रसार गरी जनताको कल्याण गर्ने तथा आपसी सद्भाव बढाउनेलगायत उद्देश्यले सम्मेलन आयोजना गरिएको कोषका उपाध्यक्ष अवेधशकुमार त्रिपाठीले बताए ।

सम्मेलन र बुद्धजयन्तीको कार्यक्रम आयोजना गर्नका लागि कोषको आन्तरिक बजेटबाट ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । सम्मेलनमा अमेरिका, थाइल्यान्ड, भारत, चीन, श्रीलंका, कोरिया, मलेसियालगायतका देशका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गर्ने कार्यक्रम रहेको छ ।