१२ बैशाख २०८१, बुधबार
Follow Us

पोर्चुगलमा बुद्ध जयन्तीको तयारी पूरा

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७५, आईतवार १५:२५

लिस्बन । पोर्चुगलमा मनाउन लागिएको २५६२औँ बुद्ध जयन्तीको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि वैशाख १७ गते राजधानी लिस्बनमा हुने बृहत् शोभायात्रा, प्रवचन, पूजालगायतका सम्पूर्ण कार्यक्रमको तयारी पूरा भएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पर्यटन दूत रमेशकुमार गुरुङले जानकारी दिनुभयो ।

संयोजक गुरुङका अनुसार रोसियोस्थित सिन्डिकेट हलमा बिहान १० बजेदेखि बुद्धको पूजा आरधनाको कार्यक्रम तय गरिएको छ भने दिनको ३:३० बजे बाट बृहत् शोभा यात्रा शुरु हुनेछ ।

-यालीका लागि बुद्धका तस्बीर, बुद्ध वाणी उपदेश, प्लेकार्ड, तुललगायतका आवश्यक सामग्री तयार गरिसकिएको र पूजा तथा प्रसाद वितरणको व्यवस्थापनसमेत तय भइसकेको उहाँले बताउनुभयो । यस्तै बौद्ध धर्मगुरुद्वारा भगवान् गौतम बुद्धका ज्ञान, दर्शन, र दिव्य उपदेशका विषयमा विशेष प्रवचनसमेत दिने कार्यक्रम रहेको छ ।

रोसियोस्थित समुन्द्र किनारबाट शुरु भई मुख्य पर्यटकीय सडक परिक्रमा गरी मार्तिम मोनिज पार्कमा आएर -याली समापन हुनेछ । नेपाली बाजागाजा, बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिने कार्यक्रम रहेको छ ।

बुद्धको प्रचार–प्रसार गर्न र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि विदेशी भूमिमा बृहत् कार्यक्रम गरेर बुद्ध जयन्ती मनाउन लागिएको संयोजक गुरुङले बताउनुभयो । -यालीमा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्म गुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता रहने बताइएको छ ।

विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले यहाँ क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा बुद्ध जयन्ती मनाउन लागिएको हो ।