६ चैत्र २०८०, मंगलवार
Follow Us

कसरि भयो दुई कोरियाको मिलन ?


१६ बैशाख २०७५, आईतवार २०:४५


नारायण गाउँले ।

डोनाल्ड ट्रम्पले अन्तिम हतियारका रूपमा चाइनासँग व्यापार-युद्ध सुरु गर्ने सङ्केत दिएपछि अप्रत्याशित रूपमा कोरियन समस्या समाधानतिर लम्किएको छ ।

ट्रम्पले उत्तरकोरियाको आणविक नि:शस्त्रीकरणका निम्ति सुरुदेखि नै चीन र रसियामाथि दबाब दिँदै आएका थिए । राष्ट्रपति निर्वाचित हुने बित्तिकै दुई कोरियालाई नजिक ल्याउन ट्रम्पले प्रयास गरेका थिए । कसिँदै गएको नाकाबन्दीले कोरियालाई गाल्दै लगेको भए पनि चीनले साथ नछोडेकाले उसको आणविक कार्यक्रम सघन हुँदै आएको थियो । यसबीच ट्रम्प र उत्तरकोरियाबीच कटुतम शब्द र धाकधम्कीको आदान प्रदान भइरह्यो । अमेरिकाले सैन्य दबाब पनि बढाउँदै लगेको थियो ।

चीनले कोरियालाई साथ दिइरहुन्जेल अमेरिकाको दाल नगल्ने स्पष्ट थियो । तर जब अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत ट्रम्पले चाइनिज सामानमाथि खरबौं रुपियाँको ट्याक्स लगाउने घोषणा गरे, विश्वबजारमा तहल्का मच्चियो । मूर्खसँग दैव डराई जस्तै भयो । चीनले पनि अमेरिकी आयातमा कर बढ़ाएर बदलाको सानो कोसिस त गर्यो तर आयातको तुलनामा निर्यात सयौं गुना बढ़ी भएकाले त्यो झन प्रत्युत्पादक हुने देखियो ।

उत्तरकोरियाका निम्ति चीनले आफ्नो अर्थतन्त्र नै हल्लिने स्थिति आउन दिने कुरो भएन । चिनियाँ नेतृत्वले ईगो र धाकधम्कीको अस्वस्थ खेल भन्दा राष्ट्रिय स्वार्थ महत्त्वपूर्ण हुन्छ भन्ने बुझेको थियो । किम जोंग उन बेइजिङ्ग झिकाइए । केही दिनमैं उत्तर र दक्षिण कोरियाबीच राष्ट्रपतिस्तरीय वार्ता भयो र अन्ततः उत्तरकोरिया आणविक निशस्त्रीकरणका निम्ति राजी भयो ।

उसले अमेरिकासँग शीर्ष वार्ता गर्दै छ र त्यो वार्ताअघि नै निशस्त्रीकरणमा ठोस प्रगति देखाउने प्रयास हुँदै छ । यही मे महिनासम्म उसले सम्पूर्ण आणविक केन्द्रहरू बन्द गरिसक्ने र त्यसको पुष्टिका निम्ति अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई भ्रमण अनुमति दिने बताएको छ । अबको यात्रा शान्ति र विकासको हुने उल्लेख छ ।

आफै बलियो नहुने हो भने अन्य मित्रको आड़मा मात्रै रेस जित्न सकिन्न भन्ने उसले बुझेजस्तो छ । मित्रका पनि आफ्नै स्वार्थ र सीमा हुन्छन् । यदि अहिले भनिएजस्तै घटनाक्रम अघि बढ्यो भने डोनाल्ड ट्रम्पको यो पहिलो कूटनैतिक सफलता हुनेछ ।

यो वैश्य युगमा युद्ध कसैको पनि चाहना र हितमा छैन । अमेरिकालाई पनि ऊ एकमात्र सुपर पावर होइन भन्ने ज्ञान छ । कसैले कसैलाई सैनिक बलकै आधारमा झुकाउनसक्ने अवस्था अब रहेन । तेस्रो विश्वयुद्ध शायद शब्द-युद्ध र व्यापार-युद्धको रूपमा लडिनेछ भन्ने यो उदाहरणले देखाउँछ ।

भारत र चीन पनि व्यापारकै कारण घाँटी जोड्दै छन् । व्यापारकै कारण युरोप र रसिया लड्नै लगेको जस्तो गरेर पनि फेरि शान्त हुन्छन् । रसियाले एउटा ग्यास सप्लाईको स्वीच बन्द गर्दा युरोपमा मान्छे भोकै बस्नुपर्ने अवस्था छ । अनि धेरै दिन स्वीच बन्द गर्दा आफ्नै सैनिकलाई तलब खुवाउने पैसा समेत नहुने समस्या रसियालाई पनि छ । व्यापारमात्रै यस्तो अस्त्र रहेछ, जसले अन्तिममा सबैलाई चिसै पानीले नुहाउन बाध्य पार्छ ।

नेपाल पनि अपवाद हुन सक्दैन । हाम्रो पनि स्थायी मित्र र शत्रु छैनन् । जसले केही दिउँला झैँ गरेको छ, उसले बदलामा के के लिने भन्ने पहिले नै तय गरिसकेको छ । सतर्क नहुने हो भने हामी मगन्ते पनि बनिरहने तर लुटिइ पनि रहने अवस्था बनिरहन्छ ।